शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दृष्टिविहीन परिवारलाई सहज होस् भनेर चन्द्रवीरले दुई वर्ष लगाएर खनेको त्यो बाटो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ११ २०८१
दृष्टिविहीन परिवारलाई सहज होस् भनेर चन्द्रवीरले दुई वर्ष लगाएर खनेको त्यो बाटो

विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटो बाटो अहिले सडकमा परिणत भएको हो। अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन्।

दाङ- श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका-३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने।

न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो। एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ। चन्द्रवीरले खनेको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ।  

विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटो बाटो सडकमा परिणत भएको हो। अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन्।

त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ। चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन्। 'श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन', उनले भने, 'श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए।'

उनका पाँच छोरा र एक छोरी थिए। एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो। अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छन्, अन्य तीन छोराले आँखा देख्दैनन्। 

अहिले उनका जेठो छोरा काठमाडौंमा दोहोरी साँझमा काम गर्छन्, भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन्। कान्छो छोरा काठमाडौंमै छन्। उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन्।

चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन्। त्यही सहयोगबाट उनको दैनिकी चलेको छ। 'कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ', उनले भने, 'यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ।' रासस


प्रकाशित : सोमबार, चैत ११ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend