बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अब्बल ब्याट्री र शक्तिशाली मोटरसहित प्रोटोन ईमास सेभेन नेपाली बजारमा

शनिबार, चैत ९ २०८१
अब्बल ब्याट्री र शक्तिशाली मोटरसहित प्रोटोन ईमास सेभेन नेपाली बजारमा

प्रोटोन ईमास सेभेन नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन्। यो विद्युतीय एसयूभीको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

काठमाडौं- नेपाली बजरमा नयाँ-नयाँ विद्युतीय आउनेक्रम जारी छ। यस्तैमा शुक्रबार प्रोटोन ब्रान्डको नयाँ विद्युतीय कार ईमास सेभेन नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक भएको छ। 

मलेसियन ब्रान्ड प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले ईमास सेभेन आधिकारिक रुपमा सार्वजनिक गरेको हो। यसअघि नेपाली बजारमा प्रोटोनका आईसी इन्जिन सवारी बिक्री हुँदै आएको थियो। पछिल्लो समय विद्युतीय सवारीको माग उल्लेख्यरुपमा बढेकाले प्रोटोट ब्रान्डको पनि विद्युतीय सवारी नेपाल भित्रिएको हो। 

प्रोटोन ईमास सेभेन नवप्रवर्तनकारी विद्युतीय कार भएकाले यसले वातावरणमैत्री र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ। चिनियाँ सवारी उत्पादक समूह जीली होल्डिङसको साझोदारीमा बनेको प्रोटोन ईमास सेभेनमा अब्बल ब्याट्री र शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ। ६ विभिन्न तवरमा परीक्षण गरेर अब्बल सावित भएको ब्याट्री यो कारमा प्रयोग गरिएको कम्पनीको भनाइ छ। 

प्रोटोन ईमास सेभेन नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन्। यो विद्युतीय एसयूभीको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो प्राइम भर्सनको मूल्य हो। त्यस्तै ईमास सेभेन प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। प्राइममा ४९.५२ किलोवाट आवरको ब्याट्री प्याक छ भने प्रिमियममा ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 

ईमास सेभेन प्लाटिनम सिल्भर, टक्र्वाेइज ग्रिन, स्लेट ग्रे, क्वाट्र्ज रोज, मोयू ब्ल्याक र लिथियम ह्वाइट गरी ६ विभिन्न आकर्षक रङमा उपलब्ध छ। ईमास सेभेनमा सेगमेन्टकै शक्तिशाली विद्युतीय मोटर दिइएको छ। ईमास सेभेको दुवै भेरियन्टमा १ सय ६० किलोवाट क्षमताको मोटर रहेको छ। 

ईमास सेभेन सार्वजनिक कार्यक्रमा शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले भविष्यको मोबिलिटीका रुपमा प्रोटोन ब्रान्डको विद्युतीय सवारी नेपाली बजारमा ल्याएको बताए। त्यस्तै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेकाले कम्पनीको लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु रहेकाले प्रोटोनका विद्युतीय कार बजारमा ल्याएको उनको भनाइ छ। 

त्यस्तै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटुवालले नेपाली बजारमा धेरै प्रकारका विद्युतीय कार उपलब्ध रहेको र त्यसमा अब्बल ब्याट्री र शक्तिशाली मोटर पावरसहित प्रोटोन ईमास सेभेर आइपुगेको बताए। ‘विद्युतयि कार खरिद गर्नेका लागि धेरै विकल्पहरु छन्। त्यसमा प्रोटोनको ईमास सेभेन ब्याट्री, मोटर र विलासीताका हिसाबले उत्कृष्ट छ,’ उनले भने, ‘अब विद्युतीय एसयूभी खरिद गर्नेले एक पटक ईमास सेभेन पनि टेस्ट ड्राइभ गरेरमात्र किन्ने निर्णयमा पुग्नु होला।’ 

विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनका कारण विस्तार भइरहेका सन्दर्भमा प्रोटोनले वातावरणमैत्री मोबिलिटीमा आफ्नो योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले आगामी आर्थिक वर्षमा नेपालभर आफ्नो डिलर संख्या ९ वटा बनाइसक्ने जनाएको छ। यससाथै प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेसन निर्माणलाई पनि प्रथमिकता दिने जनाएको छ। अबको एक वर्षभित्र देशका प्रमुख सहर तथा राजमार्गमा गरेर १ सय वटा डीसी फास्ट चार्जिङ नेटवर्क बनाउने दाबी गरेको छ।  

प्रोटोन ईमास सेभेन पहिलो पटक २०२४ को जुन १२ मा सार्वजनिक भएको थियो। मलेसियापछि ईमास सेभेन नेपाली बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमा मलेसियामा ईमास सेभेन सबैभन्दा धेरै बिक्री हुने विद्युतीय एसयूभी बनेको कम्पनीले जनाएको छ। प्रोटोन ईमास सेभेन प्रोटोनको नक्सालमा बनेको  फ्ल्यागसिप शोरूममा बुकिङका लागि उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ। 

यी हुन् ईमास सेभनेका मुख्य विशेषताहरु :

- ग्लोबल मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा निर्माण

- १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम 

- नवीनतम् सेल-टु-बडी ब्याट्री संरचना 

- न्यु जेनेरेसन एगिस सर्ट-ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट)

ब्याट्री र चार्जिङ

प्राइम भेरियन्ट : ४९.५२ किलोवाट आवर ब्याट्री, रेन्ज ३ सय ४५ किमि 

प्रिमियम भेरियन्ट : ६०.२२ किलोवाट आवर ब्याट्री, रेन्ज ४ सय १० किमि 

डीसी फास्ट चार्जिङ सपोर्ट : ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज २० मिनेटमा

प्रोटोन ईमास सेभेनले १० मिनेटको चार्ज गर्दा १ सय ३५ किमि रेन्ज प्रदान गर्ने दाबी कम्पनीले गरेको छ। 

इन्टेरियर र कम्फर्ट 

- भेन्टिलेटेड कार सिटहरू र प्रसस्त लेगरुम 

- ३३ स्टोरेज कम्पार्टमेन्ट

- वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड सिस्टम

- २५६ कलर एम्बियन्ट लाइटिङ (श्रेणीमा सर्वश्रेष्ठ)

- १५.४ इन्च, २.५ के रिजोल्युसन टचस्क्रिन डिस्प्ले 

- लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम 

- ३६०-डिग्री भ्यू क्यामेरा

- फाइभ स्टार आसिएन एनक्याप सुरक्षा रेटिङ

- १६० किलोवाट पावर र ३२० एनएम टर्क

- ० देखि १ सय किमि प्रतिघण्टाको गति पुग्न ६.९ सेकेन्डमा 


प्रकाशित : शनिबार, चैत ९ २०८११६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend