शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मुग्लिन-पोखरा सडक विस्तारका क्रममा गरिएको आंशिक अवरोध हट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ८ २०८१
मुग्लिन-पोखरा सडक विस्तारका क्रममा गरिएको आंशिक अवरोध हट्यो

राजमार्ग विस्तारको कामका लागि चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन एक महिनासम्म आंशिक रुपमा बन्द गरिएको थियो।

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ। राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ।

विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ-पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगर चुनपहरामा भएको अवरोध आजदेखि हटेको हो। 

विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोधले यात्रुले सास्ती भोग्नुपरेको थियो। राजमार्ग विस्तारको कामका लागि चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन एक महिनासम्म आंशिक रुपमा बन्द गरिएको थियो।

यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म ५०० मिटर खण्ड आंशिक रूपमा बन्द गरिएकामा आजदेखि सहज रुपमा सवारीसाधन सञ्चालन हुने भएको हो।

उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्म बन्द गरी काम गर्ने गरिएकामा सो अवरोध हटेको मुग्लिङ-पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। निर्माणको काम भने जारी रहेकाले आंशिक रूपमा करिब १५ मिनेटसम्म अवरोध हुन सक्ने उनले बताए। 

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भइ २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।

विसं २०२६ मा रेखांकन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ८ २०८११७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend