शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बेनी-जोमसोम-कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

बुधबार, चैत ६ २०८१
बेनी-जोमसोम-कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला खण्डमा सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ।

मुस्ताङ- उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ। उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु भएको उनले उल्लेख गरे।

आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात र सडक ग्राभेलतर्फ ६ वटा सडक निर्माण सम्पन्न भएको आयोजनाका सूचना अधिकारी चापागाईँले जानकारी दिए। उनका अनुसार सडक कालोपत्रतर्फ म्याग्दीको बेनी कालीपुल, बेनी गलेश्वर, तातोपानीबाट कैकु, कैकुबाट कोवाङ, जोमसोम कागबेनी खण्ड गरी सात चरणमा सडक कालोपत्र तथा स्तरोन्नति सम्पन्न भइसकेको छ।

ग्राभेलतर्फ जोमसोम-कोरलासम्म ६ चरणमा काम सम्पन्न भएको बताउँदै चराङ-छोसेर २५ किलोमिटर ग्राभेलको काम अन्तिम चरणमा पुगेको सूचना अधिकारी चापागाईँले जानकारी दिए। उनका अनुसार कोरला राजमार्गतर्फ एकसय पाँच किमी सडकको ठेक्का सम्झौता भएकामा ७५ किमी कालोपत्र सम्पन्न भएको छ।

यसैगरी जोमसोम-कोरला एकसय १० किमीमध्ये ९० किमीमा सडकमा ग्राभेल सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। यस खण्डमा १९ पुलपुलेसामध्ये १४ वटा सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका आयोजना कार्यालयका सूचना अधिकारी चापागाईँले जानकारी दिए।

निर्माण सम्पन्न भएका १४ पुलमध्ये नौ मुस्ताङ खण्डमा र पाँच वटा म्याग्दी खण्डमा बनेका आयोजना कार्यालयले जनाएको छ। मुस्ताङको थासाङ गाउँपालिका-३ लेतेको सेतु खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको बताउँदै उहाँले हालसम्म ८० प्रतिशत भौतिक प्रगति भइसकेको उल्लेख गरे।

उत्तर-दक्षिण जोड्ने कोरला सडक आयोजनाका लागि चालु आवमा थप नौ वटा आयोजन थपिएका आयोजनाका सूचना अधिकारी चापागाईँले बताए। उनका अनुसार चालु आवमा थप भएका नयाँ आयोजनामध्ये चार वटा पुलपुलेसासम्बन्धी ठेक्का सम्झौता भइ निर्माण अघि बढेको छ। 

यसअघि मुस्ताङको कैकु खोला पुल र लार्जुङ खोलामा पुल निर्माणको ठेक्का सम्झौता रद्द गरिएको थियो। निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले ठेक्का सहमति रद्द गरेको जनाएको छ। रासस


प्रकाशित : बुधबार, चैत ६ २०८११२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend