बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुदूरपश्चिमकै आकर्षक गन्तव्य बडीमालिका पुग्न १२ किलोमिटर लामो केबलकार निर्माण हुने

व्यवसायी अरुण सुवेदीको लगानीमा बन्ने केबलकारबाट वार्षिक २५ लाख पर्यटक पुर्‍याउने लक्ष्य

बुधबार, चैत ६ २०८१
सुदूरपश्चिमकै आकर्षक गन्तव्य बडीमालिका पुग्न १२ किलोमिटर लामो केबलकार निर्माण हुने

बडीमालिकामा वार्षिक २५ लाख पर्यटक पुर्‍याउनेगरी केबलकार निर्माण गर्न लागिएको छ। ४ अर्ब ३० करोड ४६ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता गरिएको छ।

काठमाडौं- सुदूरपश्चिम प्रदेशकै आकर्षक गन्तव्य बडीमालिका मन्दिर जान केबलकार बन्ने भएको छ। बाजुराको त्रिवेणी नगरपालिकाभित्र पर्ने धार्मिक र पर्यटकीय गन्तव्यको रूपमा रहेको बडीमालिका मन्दिर पुग्न सकिने गरी १२ किलोमिटर लामो केबलकार निर्माणको प्रक्रिया अगाडि बढेको छ।

केबलकार निर्माणमा व्यवसायी अरुणकुमार सुवेदीको मुख्य लगानी रहने छ। सुवेदीले बडीमालिका केबलकार प्रालिसमेत दर्ता गरिसकेका छन्। उनैले मुस्ताङको मुक्तिनाथमा समेत ठूलो लगानीमा केबलकार निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएका छन्।

मुक्तिनाथमा निर्माण हुने केबलकारमा लगानी सुनिश्चितता भए पनि अहिलेसम्म वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नगर्दा अरू प्रक्रिया अगाडि बढेको छैन। यही समयमा सुवेदीले बडीमालिकामा समेत केबलकार निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छन्।

स्थानीय र प्रदेश सरकारले समेत यसमा सहयोग गरिरहेकोले बडीमालिकामा केबलकार निर्माण हुनेमा आशावादी रहेको सुवेदी बताउँछन्। 'धार्मिकसँगै पर्यटनको पनि अद्भूत गन्तव्य रहेकोले बडीमालिकामा केबलकार निर्माणमा अगाडि बढेको हुँ,' सुवेदीले भने।

बडीमालिकामा केबलकार निर्माणका लागि बाजुरा जिल्लाको बुढीगंगापारी बाम्का बजारमुनी पहिलो स्टेशन रहने छ। त्यहाँबाट बडीमालिका मन्दिरभन्दा २५० मिटर तल अन्तिम स्टेशन हुने छ। बीचमा त्रिवेणी धाममा समेत स्टेशन रहने छ।

मन्दिरनजिक बस्ने ठाउँ या अन्य सुविधा नदिने र त्रिवेणीमा बास बस्ने व्यवस्था मिलाउनेगरी लोकेसन तयार पारिएको सुवेदीले जानकारी दिए।

बडीमालिकामा वार्षिक २५ लाख पर्यटक पुर्‍याउनेगरी केबलकार निर्माण गर्न लागिएको छ। ४ अर्ब ३० करोड ४६ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता गरिएको छ। 

बडीमालिका नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत विकास योजना अघि सारिएको छ। त्यससँगै केबलकार निर्माणको कामसमेत अगाडि बढेको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताए।

बाजुराका नौवटा स्थानीय तहमध्ये बडीमालिकाले पर्यटन पूर्वाधारका लागि गुरुयोजना समेत तयार पारेको छ। नगरकै भविष्य जोडिएको पर्यटन क्षेत्रका सम्भावित गन्तव्य, त्यसको महिमा र विशेषता, आवश्यक पूर्वाधार विकास र संरचनाको निर्माणसहितको तथ्यांकसहितको विवरण गुरुयोजनामा समेटिएका छन्। सोहीअनुसार पूर्वाधारमा निजी क्षेत्र र सरकारलाई आह्वान गरिएको प्रमुख खड्काले बताए। 

बाजुरामा रहेको बडीमालिका अनुमप र सुन्दर पर्यटकीय स्थान हो। समुन्द्री सतहबाट झन्डै ४ हजार ३ सय मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र सुदूरपश्चिमकै प्रमुख गन्तव्य हो।

अन्य समयमा सुनसान रहने यस क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्थानीयहरू झन्डै १० हजारको हाराहारीमा पूजा गर्नका लागि त्यस क्षेत्रमा पुग्छन्। केबलकार निर्माणपछि १२ महिना नै पर्यटक पुर्‍याउन सकिने अनुमान रहेको छ।

बडीमालिका मन्दिर हिन्दु धर्मावलम्बिका लागि धार्मिक आस्थाको केन्द्र बिन्दुका रुपमा रहेको छ। यहाँ हरेक वर्ष जनै पूर्णिमाको अवसर पारेर मेला लाग्ने गर्दछ। विभिन्न समयमा हुने मेलापर्व र अन्य दर्शनार्थीसँगै प्राकृतिक सुन्दरता अनुभव गर्न चाहानेहरूका लागि केबलकारले थप सहजता दिने विश्वास लिइएको छ। 


प्रकाशित : बुधबार, चैत ६ २०८११०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend