बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा, ७५ प्रतिशत काम सकियो

मंगलबार, चैत ५ २०८१
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा, ७५ प्रतिशत काम सकियो

आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ।

म्याग्दी- रघुगंगा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगंगा-७ चिमखोला र वडा नं ८ कुइनेमंगलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युतगृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए।

उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ।

आयोजनाको पूर्वाधारतर्फको निर्माण कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक दुईसय जनशक्ति परिचालन गरेर काम गरिरहेको छ। आयोजनाकम लागि आवश्यक पर्ने उपकरण ढुवानीको काम धमाधम भइरहेको छ। विद्युत गृहमा विद्युतीय उपकरण र सामग्री जडानको काम भइरहेको वित्त प्रमुख खतिवडाले बताए।

सुरुङरहित यस आयोजनामा कुल दुई हजार आठसय मिटर पाइपलाइन जडानको काम अन्तिम चरणमा पुगेको छ।

सुगुरथलामाथि रघुगंगा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए। उनका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ।

तीन अर्ब रूपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend