बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय सवारी बनाउन टीबीडी इन्फ्राटेकले हेटौँडामा १ अर्ब ८९ करोड लगानी गर्ने

वार्षिक १४ हजार सवारीसाधन बनाउने

मंगलबार, चैत ५ २०८१
विद्युतीय सवारी बनाउन टीबीडी इन्फ्राटेकले हेटौँडामा १ अर्ब ८९ करोड लगानी गर्ने
सांकेतिक तस्बिर।

ठूलो वर्गको उक्त उद्योगमा १ अर्ब ८९ करोड ४९ लाख २० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ।

काठमाडौं- नेपालमै सवारी एसेम्बल तथा उत्पादन गर्न उद्योग दर्ता हुने क्रम बढ्दै गएको छ। यस्तैमा मकवानपुरमा विद्युतीय मोटरसाइकल तथा स्कुटर, विद्युतीय कार र प्यासेन्जर भ्यानसमेत उत्पादन/एसेम्बल गर्नेगरी उद्योग आएको छ। 

'टीबीडी इन्फ्राटेक' कम्पनीले मकवानपुरमा एसेम्बल प्लान्ट स्थापना गरेर सवारीसाधनका साथै विद्युतीय सवारी चार्ज गर्ने आवश्यक चार्जरसमेत नेपालमै बनाउने भएको छ।

गएको कात्तिकमा टीबीडी इन्फ्राटेकले मकवानपुरमा उद्योग स्थापना गरेर सवारी उत्पादन गर्ने भन्दै उद्योग दर्ता गरेको हो। विद्युतीय सवारीको बढ्दो मागका कारण उक्त कम्पनीले विद्युतीय सवारीमात्र उत्पादन गर्नेगरी उद्योग स्थापना गर्ने भएको छ। 

ठूलो वर्गको उक्त उद्योगमा १ अर्ब ८९ करोड ४९ लाख २० हजार रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। उत्पादनमूलक उद्योगका रुपमा दर्ता भएको टीबीडी इन्फ्राटेकले उद्योग सञ्चालनमा आइसक्दा १ सय ३ जनालाई प्रत्यक्ष रोजगारी दिने जनाएको छ। 

टीबीडी इन्फ्राटेकले ठूलो संख्यामा सवारीसाधन उत्पादनको प्रस्ताव गरेको छ। यो उद्योगले दुईपांग्रेका साथै प्यासेन्जर कार र विद्युतीय भ्यानसमेत उत्पादन गर्ने बताएको छ।

टीबीडी इन्फ्राटेक वार्षिक ५ हजार वटा दुईपांग्रे विद्युतीय सवारी, विद्युतीय प्यासेन्जर कार ७ हजार वटा र विद्युतीय चारपांग्रे भ्यान २ हजार वटा उत्पादन गर्ने योजना अघि सारेको छ। उक्त उद्योगले वार्षिक कुल १४ हजार सवारी उत्पादन गर्ने प्रस्ताव गरेको हो। 

त्यस्तै उक्त उद्योगले विद्युतीय सवारीका लागि अत्यावश्यक चार्जर पनि उत्पादन गर्ने बताएको छ। टीबीडी इन्फ्राटेकले वार्षिक ५ हजार वटा ईभी चार्जर उत्पादन गर्ने प्रस्ताव गरेको हो। नेपालमा हाल यात्री मोटरसाइकलले विद्युतीय चार्जर उत्पादन गर्दै आएको छ भने अन्य सबैजसो चार्जर चीनबाट आयात हुँदै आइरहेको छ। 

नेपालमा सवारी एसेम्बल गर्न भन्दै ४ दर्जनभन्दा बढी उद्योग दर्ता भइसकेका छन्। विगतमा हुलास मोटर्सले विराटनगरमा नेपालमै सवारी उत्पादन गर्दै आएको थियो। तर सरकारले २०६९ मा युरो थ्री स्तरको सवारी प्रदूषण मापदण्ड कार्यान्वयनमा ल्याएपछि उक्त उद्योग पूर्णरुपमा बन्द भयो। हाल उक्त उद्योगले पनि तीनपांग्रे विद्युतीय सवारी एसेम्बल गर्दै आएको छ। 

त्यसपछि बजाजको मोटरसाइकल नेपालमै एसेम्बल सुरु गरेको थियो। त्यसयता नेपालमा मोटरसाइकल तथा स्कुटर आयात गर्ने सबैजसो कम्पनीले नेपामै एसेम्बल गर्दै आएका छन्।

बजाज, टीभीएस, यामाहा, रोयल इनफिल्ड, सुजुकी, होन्डालगायत ब्रान्डले मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिरहेका छन्।

त्यस्तै चीनबाट विद्युतीय स्कुटर आयात गर्दै आएका कम्पनीहरूले पनि सानो स्केलमा सीकेडी आयात गरेर वर्कशपमै भएपनि एसेम्बल गरिहेका छन्। 

चारपांग्रे सवारी एसेम्बल भने नेपालमा हुन्डाईले सुरु गरेको हो। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले एक वर्षअघिबाट नवलपरासीको रामग्राममा प्लान्ट स्थापना गरेर हुन्डाईको भेन्यु कार नेपालमै बनाइरहेको छ। त्यस्तै कम्पनीले हुन्डाईको क्रेटा र आईटेन कार पनि परीक्षण उत्पादन गरिसकेको र बिक्रीका लागि ल्याउने तयारीमा रहेको छ। 

अन्य धेरै कम्पनीले नेपालमै कार बनाउने भनेर उद्योग दर्ता गरेपनि हालसम्म हुन्डाईबाहेक अन्यले ठोस काम भने गरेका छैनन्।


प्रकाशित : मंगलबार, चैत ५ २०८११७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend