बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जर्मनहरूका लागि टेस्ला पुग्यो, ९४ प्रतिशत भन्छन् - अब टेस्ला नकिन्ने

जर्मनीमा ईभी बिक्री २७ प्रतिशतले बढ्दा टेस्लाको ४१ प्रतिशतले किन घट्यो?

आइतबार, चैत ३ २०८१
जर्मनहरूका लागि टेस्ला पुग्यो, ९४ प्रतिशत भन्छन् - अब टेस्ला नकिन्ने

अर्को रोचक कुरा के छ भने २०२३ को तुलनामा २०२४ मा जर्मनीमा समग्र विद्युतीय कारको बिक्री बढेको तथ्यांक छ। तर टेस्लाको कार बिक्री भने २०२३ को तुलनामा २०२४ मा ४१ प्रतिशतले कमी आएको छ।

काठमाडौं- संसारकै धनाढ्य एलन मस्कको विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले ईभी सेगमेन्टमा नयाँ बेन्चमार्कमात्र बनाएन विश्वभर ईभीबारे ठूलो ह्वीम नै ल्यायो। अमेरिकाबाट सुरु भएको टेस्लाको उत्पादन तथा बिक्री यात्रा जर्मनी, चीन हुँदै भारतसम्म आउने तयारीमा रहेको छ। 

टेस्ला सीईओ मस्कले युरोपेली बजारलाई लक्षित गरेर जर्मनीमा उत्पादन प्लान्ट नै स्थापना गरे। अमेरिकापछि चीनमा दोस्रो र जर्मनीमा तेस्रो टेस्ला गिगाफ्याक्ट्री स्थापना गरेर टेस्ला इंकले विद्युतीय कार उत्पादन तथा बिक्री गरिरहेको छ। तर पछिल्लो समय टेस्लाको कार बिक्रीमा उल्लेख्य गिरावट आइरहेको छ संसारभर नै।

निःशुल्क ‘ग्लोबल मार्केटिङ’ पाएको टेस्लाले २०२४ सम्म निरन्तर बिक्री वृद्धिको तथ्यांक सार्वजनिक गर्दै आएको थियो। तर जब मस्क अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर लागे त्यसपछि भने टेस्लाको बिक्रीमा कमी आउने कारकको रुपमा देखापर्न थाल्यो। वास्तविक कारण बाहिर नआए पनि विश्वभर मस्कले गरेको ट्रम्पको एकोहोरो रटानले पनि टेस्लाको व्यापार प्रभावित भएको विश्लेषण हुन थालेको छ। 

अमेरिकामात्र होइन चीनमा पनि टेस्लाका विद्युतीय कारको बिक्री घटेको छ। जर्मनीमा त अझै खतरनाक संकेत देखिएको छ। हालै भएको एक सर्भेअनुसार ९४ प्रतिशत मानिसहरु अब टेस्लाका विद्युतीय कार चढ्ने मनसायमा नरहेको देखिएको छ। टी-अनलाइनले गरेको सर्भेले ३ प्रतिशत जर्मनहरुमात्र टेस्लाका कार किन्न राजी भएको देखाएको इलेक्ट्रिक डटकोले लेखेको छ। टी-अनलाइनले १ लाख जर्मन नागरिकहरुमा उक्त सर्भेमा सामेल भएको जनाएको छ। 

जर्मन नागरिकमा भएको उक्त सर्भेको नतिजा समग्र अटोमोबाइल उद्योग र उत्पादकका लागि सकारात्मक नभएको विश्लेषण गरिएको छ। जर्मनीसँगै समग्र युरोपेली बजारमै टेस्लाका विद्युतीय कारको बिक्रीमा गिरावट आएको छ। 

तर अर्को रोचक कुरा के छ भने २०२३ को तुलनामा २०२४ मा जर्मनीमा समग्र विद्युतीय कारको बिक्री २७ प्रतिशतले बढेको तथ्यांक छ। तर टेस्लाको कार बिक्री भने २०२३ को तुलनामा २०२४ मा ४१ प्रतिशतले कमी आएको छ। यसले जर्मनीमा टेस्लाको आगामी दिनका लागि रातो झण्डाको संकेतका रुपमा देखिएको विश्लेषण हुन थालेको छ। यद्यपी २०२५ मा टेस्लाको जर्मनीसहित विश्वव्यापी पर्फमेन्स राम्रो हुने केहीको आँकलन रहेको छ। 

२०२५ को पहिलो दुई महिनामा टेस्लाको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब ७० प्रतिशतले गिरावट आएको छ। २०२४ को पहिलो दुई महिनामै टेस्लाको बिक्री राम्रो नभएको इलेक्ट्रिक डटकोले लेखेको छ। 

विद्युतीय सवारीमा व्यापक प्रतिस्पर्धा बढेको र टेस्ला मोडल वाईमा परिवर्तन ल्याएकाले पनि बिक्री घटेको विज्ञहरुले बताएका छन्। योभन्दा बढी एलन मस्कले गत महिना भएको जर्मनीको चुनावमा उग्र दक्षिणपन्थी पार्टीको पक्षपोषण गरेकोमा पनि जर्मनी नागरिकहरु मस्क र मस्कको कम्पनी टेस्ला प्रति सकारात्मक नदिएका हुन्। चुनावी प्रक्रियामा मस्कको अतिरिक्त चासोका कारण मस्क र उनको कम्पनीले जर्मनी उपभोक्ताको विश्वसानीयता थप गुमाउनु परेको विश्लेषण भइरहेको छ। 

जर्मनीमा जे भइरहेको छ त्यसले समग्र युरोपेली बजारमै टेस्लाप्रतिको आम धारणा प्रभावित हुन सक्छ। जर्मनीमा मस्कले सपोर्ट गरेको पार्टीले जम्मा २० प्रतिशतमात्र भोट ल्याएको थियो। यो पार्टी टेस्लाप्रति विगतदेखि नै सकारात्मक भने थिएन। 

यतिमात्र होइन पछिल्लो समययता अमेरिकी सेयर बजारमा टेस्लाको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ।


प्रकाशित : आइतबार, चैत ३ २०८११२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend