बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिपमोटर बीटेन चीनमा ४८ घण्टामा ३१ हजार बुकिङ, कहिले आउँछ नेपाल?

बिहीबार , फागुन २९ २०८१
लिपमोटर बीटेन चीनमा ४८ घण्टामा ३१ हजार बुकिङ, कहिले आउँछ नेपाल?

‘लिप ३.५ आर्किटेक्चर’मा बनेको बीटेन कम्पनीको पहिलो बी सेग्मेन्ट एसयूभी मोडल हो।

काठमाडौं- युरोपेली सवारी उत्पादक कम्पनीहरूको समूह स्टेलेन्टिसको स्वामित्वमा रहेको लिपमोटरले आफ्नो नयाँ विद्युतीय कार बीटेनको बुकिङ खुला गरेको ४८ घण्टामा ३१ हजारवटा बुकिङ भएको छ। पहिलो चरणमा चिनियाँ बजारलाई लक्षित गरेर लिपमोटरले बीटेनको बुकिङ खुलाएको हो।  

लिपमोटरले मार्च १० मा चिनियाँ बजारका लागि बीटेनको बुकिङ खोलेको थियो। लिडर सेल्फ ड्राइभिङ भर्सनमा उपलब्ध लिपमोटर बीटेन पहिलो एक घण्टामै १५ हजार १० वटा बुकिङ भएको थियो। 

स्टेलेन्टिसले स्वामित्व लिएको न्यू इनर्जी भेहिकल ब्रान्ड लिपमोटरको बीटेन छैटौँ उत्पादन हो। लिडर सेन्सरसहित उत्पादन भएको बीटेन पहिलो कार भएको कम्पनीले जनाएको छ। 

युरोपियन ग्रुप स्टेलेन्टिसको प्रवेशसँगै आक्रमक बजार विस्तारमा लागिपरेको लिपमोटरले नयाँ एसयूभी बीटेन यसअघि फ्रान्समा भएको ‘पेरिस मोटर शो २०२४’मा देखाएको थियो।

‘लिप ३.५ आर्किटेक्चर’मा बनेको बीटेन कम्पनीको पहिलो बी सेग्मेन्ट एसयूभी मोडल हो। बी सेग्मेन्ट एसयूभी संसारभर सर्वाधिक रुचाइएको एसयूभीमा पर्छ। सोही कारण यो सेगमेन्टमा सबैजसो कम्पनीले गाडी उत्पादन गर्दै आएका छन्। 

चीनसँग लिपमोटरको बीटेन एसयूभीले युरोप तथा एसियाली बजारमा राम्रो स्थान पाउने अनुमान गरिएको छ। सुरुमा चीनमा बिक्रीका लागि बुकिङ खुला गरिएको लिपमोटर बीटेन केही समयमा अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध हुनेछ। त्यस्तै राइट ह्यान्ड ड्राइभ मोडल पनि उत्पादनका क्रममा रहेकाले उक्त मोडल तयार भएलगत्तै युरोप तथा नेपाललगायत बजारमा पनि उपलब्ध हुनेछ। 

आधुनिक विशेषताले भरिपूर्ण हुने बीटेन एसयूभीमा ६७.१ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। यो विद्युतीय कारले एक पटकको फुल चार्जमा ६ सय किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ।

लिपमोटर बीटेन अर्को ५६.२ किलोवाट आवरको ब्याट्री अप्सनमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यसले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

लिपमोटरले बीटेन एसयूभीको ककपिटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग गरेको छ। इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बीटेन एसयूभीले लिपमोटरको बिक्रीलाई थप उचाईमा लाने विश्वास कम्पनीले लिएको छ। 

लिपमोटर बीटेनको लम्बाई ४५ सय १५ एमएम, चौडाई १८ सय ८५ एमएम र उचाई १६ सय ५५ एमएम रहेको छ। त्यस्तै यो कारको ह्वील वेस २७ सय ३५ एमएम छ। 

बीटेनले ८ सय भोल्टको हाइ भोल्टेज फास्ट चार्जिङ सपोर्ट गर्ने र ३० देखि ८० प्रतिशत चार्ज गर्न २० मिटेनमात्र लाग्ने दाबी कम्पनीले गरेको छ। 

लिपमोटरका विद्युतीय कार नेपाली बजारमा पनि उपलब्ध छन्। सांग्रिला मोटर्सले ल्याएको लिपमोटरको सीटेन र टी-थ्री नेपाली बजारमा बिक्री भइरहेको छ। सांंग्रिला मोटर्सले लिपमोटरले राइट ह्यान्ड ड्राइभ अप्सन उत्पादन गरेलगत्तै नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ। आगामी भदौमा हुने नाडा अटो शोमा लिपमोटर बीटेन अउने अनुमान गरिएको छ। 


प्रकाशित : बिहीबार , फागुन २९ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend