बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : ऊर्जामन्त्री खड्का

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २७ २०८१
अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : ऊर्जामन्त्री खड्का

ऊर्जामन्त्री खड्काले आयोजना निर्माण हुँदा हजारौँ व्यक्तिले रोजगारी पाउनुका साथै मुलुकको आर्थिक विकास हुने भएकाले आयोजना निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन्।

अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, अरुण चौथोलगायतका आयोजनालाई समयमै सम्पन्न गरेर मुलुकले अत्यधिक फाइदा लिनुपर्ने बताए। काम गर्ने सिलसिलामा समस्या आउने भन्दै यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

ऊर्जामन्त्री खड्काले लगानी सुरक्षित हुने र मुलुकलाई अत्यधिक फाइदा हुनेगरी काम सम्पन्न गर्नुपर्ने उल्लेख गरे। उनले आयोजना निर्माण हुँदा हजारौँ व्यक्तिले रोजगारी पाउनुका साथै मुलुकको आर्थिक विकास हुने भएकाले आयोजना निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

छलफलमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, माथिल्लो अरुणको प्रमुख कार्यकारी निर्देशक फणिन्द्र जोशी, नेपाल विद्युत् प्राधिकरणका निर्देशक नसिवमान प्रधान, माथिल्लो अरुणका आयोजना प्रमुख रामचन्द्र पौडेललगायतको सहभागिता थियो।

छलफलमा सहभागीले दुवै आयोजनाबाट मुलुकले कसरी अधिकतम फाइदा लिन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताएका थिए। यस सम्बन्धमा अध्ययन गरी निष्कर्षमा पुग्नका लागि एक प्राविधिक समिति गठन गरिने भएको छ। 


प्रकाशित : मंगलबार, फागुन २७ २०८१११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend