बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१२ अर्ब रूपैयाँ लगानीमा निर्माण हुँदै गरेको शेष घलेको होटल सञ्चालनमा नआउँदै बिक्री गरिँदै

खरिदका लागि 'एनआरएनए'हरू पटक-पटक छलफलमा

बुधबार, फागुन २८ २०८१

खरिद बिक्रीका लागि विभिन्न चरणका छलफल भइरहेका छन्। अमेरिका, अष्ट्रेलिया र बेलायत बस्ने केही एआरएनए नेपालीसहित विदेशी लगानीकर्ताले खरिदका लागि घले परिवारसँग डिल गरिरहेका छन्।

काठमाडौं- झण्डै १० वर्षभन्दा पहिले निकै तामझामसहित गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का तत्कालीन अध्यक्षसमेत रहेका शेष घलेले नेपालमा ८ अर्ब रुपैयाँ लगानीमा लक्जरी होटल बनाउने घोषणा गरे। तर अहिलेसम्म निर्माणकै चरणमा रहेको होटल बनिनसक्दै बिक्रीको संघारमा पुगेको छ। 

२०७१ असोज २५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित विभिन्न मन्त्री र पूर्वप्राधनमन्त्रीहरू उपस्थित भएर कान्तिपथ केशरमहलनजिक होटलको शिलान्यास गरेका थिए। तर यतिका वर्षमा अहिलेसम्म पनि होटलको निर्माण कार्य जारी छ। सञ्चालनको टुंगो छैन। एमआईटी होल्डिङ्सले निर्माण गरिरहेको होटलमा आउने भनिएको चर्चित ब्राण्ड सेराटन पनि अहिले बाहिरिएको छ।

नेपालीमूलका अस्ट्रेलियन अर्बपति घलेले सन् २०१४ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दा सन् २०१८ बाट नारायणहिटी छेवैमा रहेको होटल सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए। होटल सन् २०१४ मै निर्माण सुरु गरिए पनि भूकम्प, नाकाबन्दीसँगै कोरोनाको कारणले समेत पूर्वनिर्धारित लक्ष्यमा ढिलाइ भएको भन्दै समय सारिँदै आइएको छ।

विगतमा लागत ८ अर्ब रुपैयाँ भनिए पनि अहिले बढेर १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ। एमआईटी ग्रुप होल्डिङ्स नेपालमा शेष घले र जमुना गुरुङको नाममा ५०/५० प्रतिशत सेयर रहेको छ।

sesh ghale hotel (3).jpg

एमआईटी होल्डिङ्सले नेपालमा स्टारवुड होटल एन्ड रिसोर्ट वर्ल्डवाइड इंकको सेराटन ब्रान्ड ल्याउने जनाउँदै निर्माण सुरु गरेता पनि अहिले सेराटन बाहिरिएपछि नयाँ कुन चेन आउने टुंगो लागेको छैन। 

एमआईटी होल्डिङ्सले अहिले होटल सञ्चालनमै नआउँदै बिक्रीका लागि राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताको खोजि थालेको छ। नयाँ लगानीका लागि विभिन्न आधा दर्जनजति समूहसँग डिलको कुराकानी भइरहेको छ। घलेले पहिलो चरणमा शतप्रतिशत नै सेयर बिक्री गर्ने र त्यसमा नमिलेर भनिएजस्तो लगानीकर्ता तथा साझेदार भेटेमा ५० प्रतिशत सेयर बिक्री गर्नेगरी डिल गरिरहेका छन्।

जग्गासहित १५ अर्ब रुपैयाँ लगानी रहेकोले सोहीअनुसारको पूर्ण स्वामित्व अथवा अन्य ५० प्रतिशत सेयर बिक्रीमा डिलमा घले परिवार लागेको छ। बैंकबाट ऋणसमेत नलिइकन लगानी गरेका घलेले पछिल्लो समय भने व्यवस्थापनमा केही समस्या हुन सक्ने भन्दै होटल बिक्रीको तयारी गरेका हुन्।

sesh ghale hotel (2).jpg

अहिले एनआरएनए नेपालीहरूकै समूह उक्त होटल खरिद गर्न चासो दिइरहेका छन्। उनीहरूले नै विदेशी लगानीकर्तासँग डिल गरिरहेको स्रोतको भनाइ छ। ठूलो लगानी हुँदा एउटै व्यक्तिले खरिद गर्न नसक्ने भएकोले केही समूह नै मिलेर खरिदमा डिल चलिरहेको छ।

खरिद बिक्रीका लागि विभिन्न चरणका छलफल भइरहेका छन्। अमेरिका, अष्ट्रेलिया र बेलायत बस्ने केही एआरएनए नेपालीसहित विदेशी लगानीकर्ताले खरिदका लागि घले परिवारसँग डिल गरिरहेका छन्।

sesh ghale hotel (4).jpg

काठमाडौं केन्द्रमा १३ रोपनी जग्गामा रहने होटलमा १७ तले भवन हुनेछ। जसमा तीन तला बेसमेन्ट, लबीसहित १३ वटा तलामा होटलका रुमहरू हुनेछन्।

होटेलमा चारवटा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर र सबैभन्दा ठूलो हल पनि रहने छन्। २ सय २२ वटा कोठा रहने होटल नेपालमा हालसम्मकै सबैभन्दा ठूलो लगानी रहेको होटलको रुपमा प्रचार हुँदै आएको छ।  

भिडियोमा हेर्नुहोस् - 


प्रकाशित : बुधबार, फागुन २८ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend