बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अध्यक्ष थापाको पोखरास्थित फोर्ड सोरुम साैरभ ज्योतिले किने २२ करोडमा

पोखरामै फोर्डको नयाँ सोरुम बन्दै 

बुधबार, माघ १९ २०७८
नाडा अध्यक्ष थापाको पोखरास्थित फोर्ड सोरुम साैरभ ज्योतिले किने २२ करोडमा

पोखरा रंगशालाको विपरीत दिशामा रहेको २१/२२ आना जग्गामा बनेको फोर्डको सोरुम ज्योतिले किनेका हुन्।

काठमाडौं- पोखरामा सवारीसाधनको व्यापारबाट उदाएका व्यवसायी ध्रुबबहादुर थापाले पोखरास्थित फोर्डको सोरुम बेचेका छन्। उनको सोरुम व्यवसायिक घराना ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङका अध्यक्ष साैरभ ज्योतिले किनेका हुन्। 

केही समयअघि दुई पक्षबीच पोखरास्थित फोर्डको सोरुम २२ करोड रूपैयाँमा खरिद/बिक्रीको सम्झौता भएको हो। नेपाली बजारमा होन्डाका मोटरसाइकल तथा स्कुटर र होन्डाकै कार बिक्री गर्दै आएको स्याकार ट्रेडिङका अध्यक्ष ज्योतिले आफ्नो व्यवसाय विस्तारका लागि पोखराको फोर्ड सोरुम किनेका हुन्। 

पोखराका लागि थापाले लिएको फोर्ड डिलर भने उनैसँग कायम रहने नाडाका अध्यक्षसमेत रहेका हिमालयन अर्गनाइजेशनका अध्यक्ष ध्रुबबहादुर थापाले बिजनेस न्युजलाई बताए। ‘अलि अघि नै पोखरामा रहेको फोर्ड सोरुमको जमिन बिक्री भएको हो’, थापाले भने, ‘त्यहाँ के हुन्छ किन्ने पक्षले अनुकुलता अनुसार गर्ला। फोर्डको पोखरा डिलर भने हामीसँगै रहन्छ।’ 

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा रंगशालाको विपरीत दिशामा रहेको २१/२२ आना जग्गामा बनेको फोर्डको सोरुम ज्योतिले किनेका हुन्। उनले फोर्डको सोरुम संरचनासहित जग्गा किनेका हुन्। उक्त जग्गामा ज्योतिले होन्डाका मोटरसाइकल र कारको समेत डिलर राख्ने अनुमान गरिएको छ।  

अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटर्सले भारतमा रहेको आफ्नो प्लान्ट बन्द गर्ने निर्णय गरिसकेको छ। सो निर्णयको प्रत्यक्ष असर फोर्डको नेपाली बजारमा समेत देखिएको छ। भारतीय बजारलाई लक्षित गरेर बनाइएका इकोस्पोर्ट, प्रिस्टाइललगायत कार भने अब नेपाली बजारमा आउने छैन। नेपाली बजारमा फोर्डको इकोस्पोर्ट निक्कै लोकप्रिय कम्प्याक्ट एसयूभी हो। 

भारतीय उत्पादन नआए पनि फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले फोर्डका प्रिमियम कार बिक्रीलाई उच्च प्राथमिकता दिने यसअघि नै बताइसकेको छ। जीओले थाइल्यान्ड, मलेसिया तथा अमेरिकी बजारमा उत्पादित प्रिमियम एसयूभी तथा पिकअप ल्याइरहेको र इलेक्ट्रिक कार ल्याउने योजनामा रहेको छ।

जीओ अटोमोबाइलले फोर्डका नेपाली बजारमा बिक्री भएका सबै कारका लागि आवश्यक सर्भिस र स्पेयर पार्टस्को उपलब्धतामा कुनै कमी हुन नदिने प्रतिवद्धतासमेत जनाएको छ।

सेकेन्ड ह्यान्ड मोटरसाइकल किचबेचबाट व्यवसाय सुरु गरेका थापा अहिले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी, बैंकिङ, इन्जिनियरिङलगायत क्षेत्रमा लगानी गरेका छन्।

अहिले थापा अटोमोबाइल व्यवसायीका रुपमा परिचित छन्। उनी पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् भने नाडा अटोमोबाइल्स एशोसिएसन नेपालमा दुईपटक उपाध्यक्ष भए। नाडाको ४५औं साधारणसभाले उनलाई अध्यक्षका रुपमा निर्वाचित गरेको थियो। फोर्डकै पोखरामा बन्दै गरेको नयाँ सोरुममा समेत थापा आफैँ पनि संलग्न छन्। 

पोखरामै बन्दै छ फोर्डको नयाँ सोरुम

ford nirman.jpeg

पोखरामा रहेको फोर्डको सोरुम भएको जग्गासहित संरचना बिक्री गएपछि नयाँ ठाउँमा सोरुम बन्न लागेको हो। फोर्डको पोखराका लागि यसअघिकै आधिकारिक बिक्रेता कम्पनी समेतको सहभागीतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँ सोरुम बन्न लागेको हो। 

अन्तर्राष्ट्रिय विमानस्थलनजिकै चौथे भन्ने ठाउँमा फोर्डको नयाँ सोरुम बनिरहेको कम्पनीले जनाएको छ। अबको केही महिनाभित्र निर्माण सम्पन्न गरेर उक्त सोरुम सञ्चालनमा आउने छ। फोर्डको नयाँ सोरुम अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न हुने बताइएको छ।

ford nirman 2.jpeg


प्रकाशित : बुधबार, माघ १९ २०७८०२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend