शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नागढुंगा सुरूङ मार्गको भौतिक प्रगति ८६ प्रतिशत, पेभमेन्टका काम ३३ प्रतिशत बाँकी

आइतबार, फागुन २५ २०८१
नागढुंगा सुरूङ मार्गको भौतिक प्रगति ८६ प्रतिशत, पेभमेन्टका काम ३३ प्रतिशत बाँकी

सुरुङ ब्रेकथ्रु भएपनि सञ्चालनमा आउन भने झन्डै एकवर्ष कुर्नुपर्ने हुन्छ। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी साधन चल्नेछन्। आगामी एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताएको छ।

काठमाडौं- नागढुंगा सुरूङ मार्गको काम ८६ प्रतिशत सम्पन्न भएको छ। नेपालकाे पहिलाे यातायात सुरुङ मार्गबाट काठमाडौं भित्रन र बाहिरिन सहज हुनेगरी अब एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। 

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ। जुन 'ब्रेक थ्रु' भइसकेको छ। 

आयोजनाको तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास र तीनवटा पुल निर्माणको काम सकिएको छ। एउटा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ। बाटो ढलान गर्नेलगायत पेभमेन्टका काम ६७ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको ८६.३६ प्रतिशत भौतिक र ७६.६८ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका चन्द्रशेखर रौनियारले जानकारी दिएका छन्। 

आयोजनाको उद्धार (रेस्क्यु) सुरूङ गतवर्षको साउनमै छिचोलिसकिएको थियो। सुरुङ ब्रेकथ्रु भएपनि सञ्चालनमा आउन भने झन्डै एकवर्ष कुर्नुपर्ने हुन्छ। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी साधन चल्नेछन्। आगामी एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताएको छ। 

२०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो। कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्यालगायत कारण आयोजना एक वर्ष पछि धकेलिएको थियो। 

निर्माणको जिम्मा हाजमा एण्डो कर्पोरेसनले पाएको हो। लामो रस्साकस्सीपछि काठमाडौं जोड्न पहिलो सुरुङ मार्ग निर्माण भएपछि नागढुंगा उकालोमा हुने घण्टौँको ट्राफिक जामको समस्या हल हुने बताइएको छ। 

सरकारले १६ अर्ब रुपैयाँ जाइकासँग ऋण लिएर बनाउन थालेको सुरुङ निर्माणमा कुल २२ अर्ब रुपैयाँ खर्च हुने छ। उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ। सुरुङपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ। सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्। 


प्रकाशित : आइतबार, फागुन २५ २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend