बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १९ २०८१
माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

भोटखोला गाउँपालिका-२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ।

सङ्खुवासभा- भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ। 

पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए। हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो। आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ। 

भोटखोला गाउँपालिका-२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ।

प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी एक लाख ५० हजार तोकिएको थियो। आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन्। आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ। 

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ। भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ। पहुँचमार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ। रासस 


प्रकाशित : सोमबार, फागुन १९ २०८११०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend