बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महँगो शुल्क कबोल गरेर लिएको खानीबाट गुणस्तरीय चुनढुंगा नआएपछि ह्वासिन सिमेन्ट संकटमा

मंगलबार, फागुन १३ २०८१
महँगो शुल्क कबोल गरेर लिएको खानीबाट गुणस्तरीय चुनढुंगा नआएपछि ह्वासिन सिमेन्ट संकटमा

ह्वासिन सिमेन्टले २०७४ सालमा धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति पाएको थियो। ६० करोड खर्च गरेर लिएको यही खानीबाट गुणस्तरीय चुनढुंगा नआएपछि उद्योग संकटमा परेको हो।

काठमाडौं- चुनढुंगा खानीको गलत छनौटका कारण सञ्चालनमा आएको दुई वर्षमै चिनियाँ लगानीको ह्वासिन नारायणी सिमेन्ट संकटमा गएको छ। पर्याप्त अध्ययनबिनै पहिचान र तय भएको खानीमा भर पर्दा १५ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आएको सिमेन्ट उद्योगले गम्भीर आर्थिक क्षति बेहोर्न बाध्य भएको छ। 

देशकै दोस्रो ठूलो ह्वासिन नारायणी सिमेन्ट उद्योग धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा रहेको छ। उद्योगबाट नजिकै रहेको सुरुको खानीबाट गुणस्तरीय चुनढुंगा आउन छाडेको थियो। यसपछि उद्योग अरुकै खानीबाट चुनढुंगा ल्याएर उत्पादन गर्दै आएको छ। नेपालकै महँगो खानी लिएको उद्योग यही खानीका कारण संकटमा गएको हो। 

दुरीका हिसाबले टाढाबाट चुनढुंगा ल्याउनुपर्ने भएपछि लागत बढी पर्न गएको र यसले उत्पादन लागत उच्च हुँदा उद्योग घाटामा गएको छ। गत आर्थिक वर्षसम्म उद्योगले दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोरेको छ। 

एकातिर बजारमा माग न्यून भएको अर्कोतिर उत्पादन लागत धेरै हुँदा उद्योगले लागतभन्दा न्यून मूल्यमा सिमेन्ट बिक्री गर्न बाध्य भइरहेको छ।

kanti taal - banke.jpg

खानी विभागका अधिकारीहरूका अनुसार पर्याप्त अध्ययन नभएको खानीमा भर परेर ठूलो लगानी गर्दा उद्योगले वित्तीय नोक्सानी बेहोर्न बाध्य भएको हो। यद्यपि उद्योगसँग सम्बन्धित अधिकारीहरूका अनुसार पछिल्लो समय नयाँ खानी लिएको छ। तर पनि अहिलेसम्म त्यो खानीबाट चुनढुंगा उत्खनन् भएको छैन। 

सिमेन्टको सबैभन्दा ठूलो बजार काठमाडौंको नजिकै उद्योग रहेको र खानी पनि निकट भएकाले ह्वासिनले बजारमा हस्तक्षेपकारी भूमिका खेल्ने धेरैको अनुमान थियो। बिजुलीदेखि सडकको द्रुत पहुँच हुँदा पनि यो उद्योग आफै संकटमा रहेको छ। 

संकट लम्बिँदै जाँदा क्षमताअनुसार उत्पादन नै गर्न नसक्ने अवस्थामा उद्योग पुगेको छ। उद्योग मन्त्रालय र खानी विभागका अधिकारीहरू भने उद्योगले मागेको सहजीकरण सधैँ गरिएको तर सरकार आफैले खानी खोजेर दिन नसक्ने बताउँछन्। 

उद्योगमा चीनको चर्चित सिमेन्ट कम्पनी ह्वासिनको बहुमत लगानी रहेको छ। नेपाली उद्योगीको पनि यसमा साझेदारी रहेको छ। ह्वासिनले २०७२ सालमै विदेशी लगानीको स्वीकृति पाएको थियो। 

२०७४ सालमा धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति पाएको थियो। ६० करोड खर्च गरेर लिएको यही खानीबाट गुणस्तरीय चुनढुंगा नआएपछि उद्योग संकटमा परेको हो।


प्रकाशित : मंगलबार, फागुन १३ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend