बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटाको कर्भ ईभी सार्वजनिक, मूल्य ५६ लाख ९९ हजार रूपैयाँ

आइतबार, फागुन ११ २०८१
टाटाको कर्भ ईभी सार्वजनिक, मूल्य ५६ लाख ९९ हजार रूपैयाँ

कर्भ कुपे एसयूभीको एक्सेलरेसन पनि उत्कृष्ट छ। यसले शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै तय गर्न सक्छ।

काठमाडौं- टाटा मोटर्सको बहुप्रतिक्षित विद्युतीय कार ‘टाटा कर्भ डट ईभी’ नेपाली बजारमा सार्वजनिक भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आइतबार एक कार्यक्रमबीच कुपे डिजाइनको विद्युतीय एसयूभी कर्भ डट ईभी सार्वजनिक गरेको हो। 

सिप्रदीले केही सयमअघि दुईवटा कर्भ ईभी ल्याएर परीक्षण गरेको थियो। परीक्षण सफल भएपछि कम्पनीले आइतबारबाट बिक्रीका लागि कर्भ डट ईभी सार्वजनिक गरेको हो। 

कर्भ डट ईभीको नेपाली बजार मूल्य ५६ लाख ९९ हजार रूपैयाँ रुपैयाँ तोकिएको छ। अत्याधुनिक विशेषताले भरिएको कर्भ ईभीमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। 

भारतमा ६ महिना अगाडि सार्वजनिक भएको कर्भ विद्युतीय एसयूभी कम्पनीले केही ढिलोगरी नेपाल ल्याएको हो। सिप्रदीले गएको सेप्टेम्बरमा पन्च ईभी नेपाल ल्याएको थियो। भारतमा टाटा मोटर्सले नयाँ डिजाइनको कर्भ ईभी र आईसीई दुवैमा सार्वजनिक गरेर बिक्री गरिरहेको छ। नेपालमा पहिले कर्भको ईभी भर्सन आएको हो। 

टाटा मोटर्सले पहिलोपटक बनाएको कुपे डिजाइन एसयूभी कर्भलाई भारतमा दुई ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ। कर्भको मिड रेन्ज मोडल एमआरमा ४५ र लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। नेपालमा भने सिप्रदीले ५५ किलोवाट आवर ब्याट्री प्याकमा मात्र ल्याएको जनाएको छ। 

एआरएआईका अनुसार ५५ किलोवाट आवरको ब्याट्री प्याक भएको लङ रेन्ज कर्भले ५८५ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ। तर टाटा मोटर्सले भने कर्भ ईभीको ५५ किलोवाट आवर क्षमताको ब्याट्रीले रियल वर्ल्ड मा ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी छ।

यता सिप्रदीले नेपालमा सबै प्रकारको भूगोलमा परीक्षण गरेर कर्भ ईभीले एक पटकको फुल चार्जमा ३ सय ८० देखि ४ सय किलोमिटर रेन्ज दिने बताएको छ। परीक्षणका क्रममा पाइएको रेन्जलाई नै आधारमा मानेर कर्भ ईभीको वास्तविक रेन्ज बताएको सिप्रदीले उल्लेख गरेको छ। 

कर्भ कुपे एसयूभीको एक्सेलरेसन पनि उत्कृष्ट छ। यसले शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै तय गर्न सक्छ। कर्भ ईभीको लम्बाइ ४३ सय १० एमएम, चौडाइ १८ सय १० एमएम र उचाइ १६ सय ३० एमएम छ। यसमा २५ सय ६० एमएम लामो ह्वीलवेस रहेको छ। कर्भ ईभीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स छ।

कम्पनीका अनुसार यसमा १८ इन्चको अलोय दिइएको छ। ५ सय लिटरको ठूलो बुट स्पेस रहेको एसयूभीलाई ४ सय ५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन सकिने दाबी कम्पनीले गरेको छ। 

कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा छ। ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल बटम, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छन्।

भारत एनसीएपी सेफ्टी रेटिङमा कर्भ ईभीले फाइभ स्टार पाएको छ। ६ एसर ब्यागदेखि ३६० डिग्री क्यामरासम्म कर्भ ईभीमा उपलब्ध रहेको छ। 

त्यसैगरी रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक सनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउन्ड सिस्टम कर्भ ईभीमा रहेको छ। यो विद्युतीय एसयूभीमा इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ईएसपी, ड्राइभ डाउजिनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेभल २ एडासलगायत विशेषता रहेका छन्। 

नेपालमा विद्युतीय सवारी सेगमेन्टमा सिप्रदीको सबैभन्दा ठूलो चार्जिङ र सर्भिस नेटवर्क रहेको छ। टाटाको नेक्सन केथ्री ईभी, टियागो ईभी र पन्च ईभी नेपाली बजारमा बिक्री हुँदै आएका छन्। 


प्रकाशित : आइतबार, फागुन ११ २०८१२०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend