बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मोदी-मस्कको पछिल्लो भेटले खोलेको ढोका : टेस्ला चढ्ने भारतीयको चाहना छिट्टै पूरा हुँदै

शनिबार, फागुन १० २०८१
मोदी-मस्कको पछिल्लो भेटले खोलेको ढोका : टेस्ला चढ्ने भारतीयको चाहना छिट्टै पूरा हुँदै

भारतमा टेस्लाको आगमनलाई धेरैले चासोका साथ हेरेका छन्। भारतीय सवारी उत्पादकदेखि चिनियाँ सवारी उत्पादक हुँदै युरोपेली अटोमोबाइल कम्पनीसम्मको यसबारेमा चासो रहँदै आएको छ।

काठमाडौं- अमेरिकी विद्युतीय सवारी उत्पादक कम्पनी टेस्ला इंक अन्ततः भारत आउने निश्चित भएको छ। प्लान्ट पहिले कि कर घटाएर कार बिक्री पहिले भन्ने लामो समयको रस्साकस्सीपछि हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र टेस्लाका सीईओ एलन मस्कबीचको भेटले टेस्लाका लागि भारत प्रवेशको ढोका खुल्ने भएको हो। 

गएको साता भारतीय प्रधानमन्त्री मोदी र टेस्ला सीईओ मस्कबीच अमेरिकामा भेटवार्ता भएपछि टेस्लाले भारतमा राख्ने शोरुमको लोकेसन तथा त्यसका लागि आवश्यक कर्मचारी खोज्नका लागि प्रक्रिया सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन्। 

भारतमा टेस्लाको आगमनलाई धेरैले चासोका साथ हेरेका छन्। भारतीय सवारी उत्पादकदेखि चिनियाँ सवारी उत्पादक हुँदै युरोपेली अटोमोबाइल कम्पनीसम्मको यसबारेमा चासो रहँदै आएको छ। 

भारत सरकारले चिनियाँ सवारी उत्पादकलाई प्रवेशमा निकै कडाइ गर्दै आएको छ। सोही कारण नेपालसहित अन्य एसियाली बजारमा चिनियाँ सवारीको दबदबा बढ्दै जाँदा भारतमा भने चिनियाँ विद्युतीय सवारी उत्पादकको उपस्थिति निकै कम रहेको छ। 

चिनियाँ विद्युतीय सवारी उत्पादक प्रति कठोर नीति लिएको मोदी सरकारले अमेरिकी विद्यूतीय सवारी उत्पादक टेस्लाका निम्ति भने सहज बनिदिएको हो। सोही कारण टेस्ला भारत आउन तयार भएको छ। भारत सरकारले केही महिनाअघि नयाँ विद्युतीय सवारी नीतिसमेत जारी गरेको थियो। 

टेस्लाले भारतमा यही वर्षको तेस्रो त्रैमासदेखि कार बिक्री थाल्नेगरी काम गरिररहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। भारत सरकारका अधिकारीहरुसँग आफ्नो योजनाबारे छलफल गर्न छिट्टै टेस्लाका उच्च अधिकारीहरु भारत आउँदै छन्। 

टेस्लाले भारतमा २०२१ मै कम्पनी दर्ता गरेको थियो। ब्लुम्बर्गका अनुसार टेस्लाले भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लोरमा शोरुम राख्नका लागि उपयुक्त स्थान खोज्न थालिसकेको छ। 

टेस्लाले भारतीय बजारमा बिक्रीका लागि जर्मनीमा रहेको गिगा फ्याक्ट्रीबाट उत्पादित कार ल्याउने छ। भारतले चीनमा उत्पादन भएको टेस्लाका कार भारतमा बिक्री गर्न नदिने यसअघि नै बताइसकेको छ। भारतीय बजारका लागि टेस्लाले पहिलो विद्युतीय कारका रुपमा मोडल वाई ल्याउने सम्भावना उच्च रहेको छ। 

यता सीएनबीसी टीभी१८ ले भने टेस्लाले भारतमा २५ हजार डलरभन्दा कमको विद्युतीय कारलाई आफ्नो पहिलो कारका रुपमा उतार्ने सम्भावना धेरै रहेको दाबी गरेको छ। टेस्लाले उक्त मूल्यको विद्युतीय कार सार्वजनिक गर्ने बताएको लामो समय भइसकेको छ। सोहीकारण पनि ‘प्राइस सेन्सेटिभ’ बजारको रुपमा रहेको भारतमा सोही २५ हजार डलरभन्दा कम मूल्यको विद्युतीय कार ल्याउने सम्भावनालाई बलियो बनाएको हो। 

इन्डिया टुडेका अनुसार टेस्लाका उच्च अधिकारीहरु प्रधामन्त्री कार्यालयमा बैठकका लालि अप्रिलमा भारत आउने तयारीमा छन्। उनीहरुले प्रधानमन्त्री कार्यालयसहित अन्य भारतीय उच्च पदस्थ अधिकारीहरुलाई भेट्नेछन्। उक्त छलफल भारतमै प्लान्ट स्थापना गरेर स्थानीय रुपमै विद्युतीय कार उत्पादन गर्ने तथा ‘स्कीम टु प्रमोट म्यानुफ्याक्चिरिङ आफ इलेक्ट्रिक प्यासेन्जर कार इन इन्डिया’ योजनामा टेस्लालाई समेट्ने विषयमा पनि कुराकानी हुने बताइएको छ। 

भारत सरकारले दिने स्कीममा योग्य हुन सीआईएम मूल्य ३५ हजार डलर वा त्योभन्दा कम मूल्यको ५० हजार विद्युतीय कार आयात गर्न निदे योजना अघि सारेको छ। अहिले यस्तो योजना पाउन ८ हजार वटामात्र कार आयात गर्न पाइन्छ। नयाँ योजनामा भने ५० हजार वटा विद्युतीय कार आयात गर्दासम्म १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ। 

भारत सरकारको स्कीम पाउन कम्तीमा ४१ अर्ब ५० करोड भारु लगानी गरेर विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्नुपर्ने छ। स्कीम पाउन उक्त सो रकम लगानी गरेर तीन वर्षभित्र कार उत्पादन थालेको हुनुपर्ने छ। यसका साथै पहिलो ३ वर्षमा २५ प्रतिशत र ५ वर्षभित्र ५० प्रतिशत स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने उत्पादन प्लान्टले मात्र उक्त स्कीम योजना पाउने छन्।

भारतीय बजारमा भन्दा धेरै पहिले नेपाली बजारमा टेस्लाका विद्युतीय कार आएको थियो। अवैध बाटोबाटै आएको भए पनि नेपाली उपभोक्ताले टेस्लाका विद्युतीय कार चढ्न पाएका थिए। 


प्रकाशित : शनिबार, फागुन १० २०८११५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend