शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा

मंगलबार, फागुन ६ २०८१
नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा
फाइल तस्बिर

सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो।

चितवन- नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्। सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो।

सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए। पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन्। नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो। 

सो पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो। यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो। दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर सो पुल निर्माण गरिएको हो।

उक्त सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो। विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। पुल सोहीअनुसार फराकिलो बनाइएको छ। 

पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो। एक अर्ब २६ करोड ५० लाख पाँच हजार ५ सय ९६ रूपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको दरैले जानकारी दिए। ३ वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो। झण्डै २ वर्ष थप समय लगाएर पुल निर्माण सम्पन्न भएको हो।

कोभिड, मुआब्जा वितरण, भित्तो काट्न समस्या, विद्युतका तार तथा खम्बा व्यवस्थापन, मठ-मन्दिर, शौचालय, प्रतीक्षालय स्थानान्तरण लगायतका कारण सम्झौता गरिएको समयमा काम सम्पन्न हुन नसकेको दरैको भनाइ छ।

यो सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्। यसमध्ये धेरै राजधानी जाने र बाहिरिने हुने गर्दछन्। पुल विस्तारसँगै सवारी साधन जामको समस्या कम हुने अनुमान गरिएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन ६ २०८११३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend