बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासका विषयमा छलफल

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३० २०८१
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासका विषयमा छलफल

भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैँ भारतको साथ र सहयोग रहेको बताएका थिए। उनले दुई देशबीचको विद्युत विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ।

‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो। 

ऊर्जामन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भएको भेटमा इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिवस्तरीय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युतमन्त्रीलाई धन्यवाद दिए। 

ऊर्जामन्त्री खड्काले गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए। मन्त्री खड्काले नेपालले सुक्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत उपलब्धताको स्वीकृत दिन माग गरे। 

हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत उपलब्ध गराउँदै आएपनि पिक आवरमा भने उपलब्ध गराएको छैन। ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए। 

ऊर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिएकोमा आजको भेटमा फेब्रुअरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको छ। 

भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैँ भारतको साथ र सहयोग रहेको बताएका थिए। उनले दुई देशबीचको विद्युत विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताए। भारतका विद्युतमन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए। 

भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए। 

यस्तै, भारतीय तर्फबाट विद्युतमन्त्री खट्टरसँगै विद्युत सचिव पङ्कज अग्रवाल र भारतको विद्युत संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिती रहेको थियो। 


प्रकाशित : बुधबार, माघ ३० २०८११६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend