बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी मोटर्सले बेच्ने 'निटा' र 'डायुन' संकटमा परेसँगै कर्जा लगानीमा बैंकहरूको कडाइ

बिहीबार , फागुन १ २०८१
सीजी मोटर्सले बेच्ने 'निटा' र 'डायुन' संकटमा परेसँगै कर्जा लगानीमा बैंकहरूको कडाइ

यसरी बन्द भएका सवारी कम्पनीले उत्पादन गरेका सवारीमा लगानी गर्दा बैंकको लगानी जोखिममा पर्छ। कम्पनी बन्द भएका र हुन लागेका ब्रान्डको कारको स्पेयर पार्ट्स नपाउने, रिसेल भ्यालु नहुने र उपभोक्तामा उक्त ब्रान्डको विश्वसनीयता गुमेको हुन्छ।

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले आयात गर्दै आएको विद्युतीय सवारी ब्रान्ड संकटमा पर्न थालेसँगै वित्तीय संस्थाहरूले कर्जा प्रवाहमा कडाइ गर्न थालेको पाइएको छ। चिनियाँ कम्पनीहरू स्वदेशमै चरम वित्तीय संकटमा परेर बन्द हुने अवस्थामा पुगेका छन्। 

यसरी बन्द हुने अवस्थामा पुगेका र बन्द गर्न टाट उल्टिएको (ब्यांकरप्सी फाइल) घोषणा गरेका ब्रान्डका विद्युतीय सवारीमा वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा कडाइ गरेका हुन्।

सीजी मोटर्सले कर्जा प्रवाहका लागि सम्झौता गरेका वाणिज्य बैंकहरूले नै आफ्ना शाखा कार्यालयहरूलाई चीनमा बन्द भएका र बन्द हुने अवस्थामा पुगेका ब्रान्डका विद्युतीय सवारीसाधनमा कर्जा दिन कडाइ गर्न भन्दै सर्कुलर गरेका छन्। 

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सवारीसाधनमा कर्जा लगानी गर्दै आएका छन्। विद्युतीय सवारीमा बैंक तथा वित्तीय संस्थाले सवारी मूल्यको ८० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था रहेको छ। सोहीअनुसार तोकिएको प्रक्रिया पूरा गरेर आउने ऋणीलाई बैंकहरूले सवारी धितो राखेर ८० प्रतिशतसम्म ऋण लगानी गर्दै आएका छन्। सवारी उत्पादक कम्पनी नै संकटमा परेको वा ब्यांकरप्सी फाइल गरेका कम्पनीको सवारीमा बैंक तथा वित्तीय संस्थाले लगानी नगर्नु स्वभाविक हो। 

यसरी बन्द भएका सवारी कम्पनीले उत्पादन गरेका सवारीमा लगानी गर्दा बैंकको लगानी जोखिममा पर्छ। कम्पनी बन्द भएका र हुन लागेका ब्रान्डको कारको स्पेयर पार्ट्स नपाउने, रिसेल भ्यालु नहुने र उपभोक्तामा उक्त ब्रान्डको विश्वसनीयता गुमेको हुन्छ। सोहीकारण आयातकर्ता कम्पनीले आफ्नो स्टक सिध्याउन छुट अफरहरू ल्याउन सक्छन्। बैंकले ऋण लगानीसमेत गर्न कडाइ गरेका सवारी उपभोक्ताले खरिद गर्न नहुने अटोमोबाइल व्यवसायीहरूको भनाइ छ। 

सीजी मोटर्सले आयात गर्दै आएको डायुन ब्रान्डले चीनमा ब्यांकरप्सी फाइल गरिसकेको छ। विशेषगरी ठूला कमर्सियल सवारी बनाउँदै आएको डायुनको प्यासेन्जर कार उत्पादन गर्ने कम्पनी भने टाट उल्टिएको छ।

त्यस्तै सीजीले नै आयात गरिरहेको स्टार्टप कम्पनी होजोनको सब ब्रान्ड निटा पनि संकटमा रहेको छ। सोहीकारण यी दुई कम्पनीले उत्पादन गरेका विद्युतीय कारमा बैंकहरूले ऋण लगानी नगर्न आफ्ना शाखाहरूलाई पत्राचार गरेका हुन्। 

एक बैंकको कर्जा विभागसम्बद्ध अधिकारीले बन्द भएको र हुन लागेका कम्पनीको विद्युतीय कारमा लगानी गर्दा पछि कर्जा उठाउन समस्या हुने भएकाले शाखा कार्यालयहरूलाई कर्जा प्रवाहमा कडाइ गर्न भनिएको बताए।

‘चीनमा बन्द भएको भनिएका ब्रान्डका विद्युतीय कारमा लगानी गर्दा त्यसबाट पछि समस्या निम्तिन सक्छ। कर्जा उठाउन समस्या हुने ठाउँमा ऋण लगानी गर्नु त भएन,’ ती अधिकारीले भने, ‘संकटमा परेका ब्रान्डमा ऋण लगानी गर्न कडाइ गर्नु भनेर शाखा कार्यालयहरूलाई केही समयअघि पत्राचार गरिएको हो।’ 

शाखा कार्यालयहरूले ब्रान्ड र आयातकर्ताको नामका आधारमा नभइ आफ्ना नियमित ग्राहकलाई विश्वास गर्ने आधार भएमा मात्र लगानी गर्न सक्नेगरी काम गर्न भनिएको अर्को एक वाणिज्य बैंकका कर्जा विभागका अधिकारीले पनि बताए। कार उत्पादक नै संकटमा परेपछि उक्त कम्पनीले पार्ट्स नदिने, आयातकर्ताले पनि त्यसमा सर्भिस दिन छाड्ने भएकाले त्यस्तो कार किन्दा उपभोक्तासमेत चनाखो हुनुपर्ने बैंकरहरूले बताएका छन्। 

‘सुरुमा त निटा र डायुन ब्रान्डका कारमा बैंकहरूले पूर्णरुपमा कर्जा लगानी बन्द गर्न सर्कुलर गरेका थिए,’ एक बैंकरले भने, ‘अहिले पनि बैंकको केन्द्रीय कार्यालयबाट नयाँ सर्कुलर त आएको छैन। तर बैंकमा कारोबार गर्दै आएका र आफ्ना राम्रा ऋणीलाई उनीहरूको ट्रयाक रेकर्डका आधारमा कडाइका साथ लगानी गर्न मौखिक रुपमा मात्र भनिएको छ। तर हामीले संकटमा परेका ब्रान्डमा सहजै लगानी गरेर त्यो जोखिम मोल्नसक्ने अवस्था छैन।’ 

गएको नोभेम्बर अन्तिममा वित्तीय रुपमा सवारी उत्पादन गर्न तथा कम्पनीको नियमित सञ्चालनमा नै संकट आएपछि  डायुन कम्पनीले चीनको आधिकारिक निकायमा ‘ब्यांकरप्सी’ (टाट उल्टिएको) फाइल गरेको थियो। डायुन ब्रान्ड २०८१ बैशाखमा सीजी मोटर्सले नेपालमा आधिकारिक बिक्रेताको रुपमा ल्याउने सम्झौता गरेको थियो। डायुनको पहिलो लटका कार भने भदौमा मात्र नेपाल भित्रिएको थियो। 

चिनियाँ संस्था नेसनल इन्टरप्राइज ब्यांकरप्सी एन्ड अर्गनाइजेसन केस इन्फमेसन नेटवर्कका अनुसार डायुन अटोमोबाइल कम्पनी लिमिटेड, हुबेइ डायुन अटोमोबाइल र छेन्दु डागुन अटोमोबाइल ग्रुप कम्पनीले ब्यांकरप्सीको आवेदन दिएका छन्। 

उल्लेखित तीनवटै कम्पनीका तर्फबाट जियाङसु काइसुन्डा हाइस्पीड रेल्वे ट्रान्समिसन टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेडले ब्यांकरप्सी फाइल गरेको हो। यसबारेको अन्तिम फैसला शान्सी प्रान्तको ‘युनचेङ इन्टरमिडिएट पिपल्स कोर्ट’ले गर्नेछ। उक्त कम्पनी २०१६ को मे महिनामा स्थापना भएको थियो। जसको पुँजी ३ करोड आरएमबी थियो।

हुबेइ डायुन अटोमोबाइल र छेन्दु डायुन अटोमोबाइल ग्रुप कम्पनी लिमिटेड दुवै कम्पनी डायुन अटोमोबाइल कम्पनी लिमिटेड सब ब्रान्ड र पूर्ण स्वामित्वमा रहेको छ। 

छेन्दु डायुन १९९२, हुबेइ डागुन २०१० र डायुन अटोमोबाइल २००७ मा स्थापना भएका कम्पनी हुन्। केही वर्षअघिदेखि कम्पनीले विद्युतीय सवारी उत्पादन सुरु गरेको थियो। पहिलो यो कम्पनीले हेवी कमर्सियल सवारी उत्पादन गर्दै आएको थियो। नयाँ सेगमेन्ट अर्थात विद्युतीय सवारी उत्पादन गर्न थालेपछि कम्पनी समस्यामा पर्न थालेको र यही कारण कम्पनी टाट उल्टिने अवस्थामा पुगेको चिनियाँ सञ्चार माध्यमहरूले लेखेका छन्। 

महँगा र प्रिमियम विद्युतीय कार उत्पादन र लाइनअप धेरै हुँदै गएको र बिक्री बढ्न नसक्दा डागुन कम्पनी आर्थिक संकटमा पर्दै गएको हो। पछिल्लो केही महिनायता डागुनले कर्मचारीहरूलाई नियमित तलबसमेत दिइरहेको छैन। 

सीजी मोटर्सले हालसम्म करिब १ सय ५० वटा डायुनका विद्युतीय कार नेपाल आयात गरिसकेको छ। आयात भएका उक्त कारमध्ये २०/२५ वटाभन्दा बढी बिक्री हुन सकेको छैन। ब्रान्ड नै बन्द भएपछि उपभोक्ताहरू डायुनको कार किन्ने मुडमा देखिँदैनन्। सीजी मोटर्सले ३१ लाख रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरेको डायुनको विद्युतीय कारमा अहिले नै ४/५ लाख रुपैयाँसम्म छुट दिएर बिक्री गर्न थालिसकेको छ। यो भनेको आयातकर्ता सीजी मोटर्स पनि डायुनको आयात भएका कारण छिटो बिक्री गर्ने र स्टक क्लियर गर्ने योजनामा छ।

विद्युतीय कार बिक्रीमा महत्वकांक्षी योजना बनाएको डायुनले आन्तरिक बजारमा पनि बिक्री बढाउन सकेन। बीवाईडी, चाङगन, फोटोन, चेरीलगायत अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि अहिले ब्रान्ड नै संकटमा परेको हो। डायुनले चीनमा आफ्नो बिक्री विस्तार नभएपछि नेपाललगायत अन्तर्राष्ट्रिय बजारको खोजी गरेर सीजी मोटर्समार्फत नेपाल आएको थियो। 

त्यस्तैगरी होजोन अटोको सब ब्रान्ड निटा पनि संकटोन्मुख रहेको छ। उक्त कम्पनीमा चीनको स्थानीय सरकारले दुईपटक लगानी थप गरिसकेको छ। तथापी ब्रान्ड आफै कार बिक्री गरेर टिक्न सक्ने अवस्थामा छैन। सीजी मोटर्सले अटोमोबाइलमा प्रवेश नै निटा ब्रान्डबाट गरेको थियो। निटाले ‘लगानी पाएको’ हल्लाहरू आइरहे पनि त्यसबारे औपचारिक कुरा बाहिर आएको छैन। 

सीजी मोटर्सले आयात गरेको निटा ब्रान्ड 'भी' तथा 'एक्स' मोडलका विद्युतीय कार अहिले पनि ठूलो संख्यामा बिक्री हुन नसकेर याडमा थन्किएर बसेका छन्। ब्रान्ड संकटमा परेपछि उपभोक्ताले उक्त ब्रान्डका सवारी किन्न चाहिरहेका छैनन्। 


प्रकाशित : बिहीबार , फागुन १ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend