बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुगु कर्णाली र किमाथांका अरुण निर्माणमा स्वदेशीबाट पार नलागेपछि अन्तर्राष्ट्रिय लगानीकर्ता खोजिँदै

बिहीबार , माघ २४ २०८१
मुगु कर्णाली र किमाथांका अरुण निर्माणमा स्वदेशीबाट पार नलागेपछि अन्तर्राष्ट्रिय लगानीकर्ता खोजिँदै

'मुगु कर्णाली' जलाशययुक्त जलविद्युत् आयोजनाको क्षेत्र निर्धारणको काम सम्पन्न गराएर अध्ययनसमेत भइसकेको आयोजना हो।

काठमाडौं- मुगु कर्णाली र किमाथांका अरुण निर्माण स्वदेशी लगानीकर्ताको क्षमताभन्दा बाहिर देखिएपछि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्ने तयारी गरिएको छ।

सरकारले दुई आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण अगाडि सारेको छ। भारतीय अर्बपति अडानी समूहले मुगु कर्णालीमा चासो देखाउँदै आएको छ।

विद्युत उत्पादन कम्पनीले दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको थियो। विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग गरेको आशयपत्रमा ४ सय ५४ मेगावाट क्षमताको किमाथांका आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली आयोजनामा वित्तीय लगानी आह्वान गरेको थियो।

विद्युत उत्पादन कम्पनीले साढे ५ खर्ब रुपैयाँभन्दा बढी लागत भएका परियोजनामा लगानीका लागि आह्वान गरेको प्रस्ताव रद्द गरेको छ। कम्पनीले परियोजनामा लगानी गर्न चाहाने इच्छुकलाई पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्नेगरि सूचना निकालेको थियो। उक्त प्रस्तावमा ६ वटा कम्पनीले आवेदन दिएका थिए।

प्रस्तावमा किमाथांका अरुणमा बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोबल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि, अनक हाइड्रोपावर कम्पनी लिमिटेडले आवेदन दिएका थिए भने मुगु कर्णालीमा सिजी इनर्गो प्रालिको आवेदन परेको थियो।

आवेदन दिएका कम्पनीले भरपर्दो वित्तीय लगानीका लागि स्रोतको सुनिश्चतता गर्न नसकेपछि प्रक्रिया रद्द गरिएको थियो। कम्पनीले पहिलो चरणमा स्वदेशीलाई प्राथमिकता दिन खोजेको भए पनि अब पार नलाग्ने देखेपछि पुनः विदेशी लगानीकर्ताका लागि आह्वान गर्ने तयारी गरेको छ।

किमाथांका अरुणको लागत ९३ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको छ। स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न स्वपुँजीको कम्तिमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न सकिने भएको छ। मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १९०२ मेगावाट हो। आयोजनाको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। दुवै आयोजना अर्धजलाशययुक्त आयोजना हुन्।

सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेडद्वारा प्रस्तावित ४५४ मेगावाटको किमाथांका अरुण आयोजना संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल-चीन सीमानजिक पर्छ। भोटखोलाको वडा नम्बर २ स्थित छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ। बाँध बनेपछि सो क्षेत्रमा १०३ लाख घनमिटरको जलाशय बन्ने छ।

भोटखोला गाउँपालिका वडा नम्बर २ स्थित लिङगम गाउँको ५०० मिटर तल पुङमुछिमा विद्युतगृह बन्ने भएको छ। आयोजनामा ८ मिटर व्यास भएको ५ हजार १९८ मिटर लामो हेडरेस सुरुङ बनाइने भएको छ। आयोजनामा पानीको वहाव १४३ घनमिटर प्रतिसेकेन्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक २ अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ।

सुक्खायाममा आयोजनाबाट १ अर्ब ५ करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ। यस्तै बर्खामा १ अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ।

यस्तै सुरुङबाट ल्याइएको पानीलाई ४ वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिने भएको छ। बिजुली उत्पादनपछि सो पानीलाई पुनः अरुणमा छाडिने छ। आयोजनास्थलसम्म  पुग्न २६.८ किलोमिटर लामो पहुँचमार्ग बनाउनुपर्ने भएको छ। आयोनाको अधिकांश संरचनाहरू मकालु र वरुण राष्ट्रिय निकुञ्जमा बन्ने भएका छन्।

'मुगु कर्णाली' जलाशययुक्त जलविद्युत् आयोजनाको क्षेत्र निर्धारणको काम सम्पन्न गराएर अध्ययनसमेत भइसकेको आयोजना हो। आयोजनाको प्रभावित क्षेत्रका लागि कर्णालीका चार र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लागरी पाँचवटा जिल्लाका एक नगरपालिका र ११ वटा गाउँपालिका छनोटमा परेका थिए।

आयोजनाबाट प्रभावित हुने जिल्लाअनुसार गाउँपालिकामा हुम्लाको सर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् भने बाजुराका हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका रहेका छन्। त्यसैगरी मुगु जिल्लाका खत्याड र सोरु गाउँपालिका, कालीकोटको पताला गाउँपालिका र जुम्लाका कनका सुन्दरी र सिञ्जा गाउँपालिका रहेका छन्।

परामर्शदाता कम्पनीले क्षेत्र निर्धारणको प्रतिवेदन विद्युत् विकास विभागलाई पेस गरिसकेको छ। त्यससँगै उक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन कार्यसमेत धमाधम भइरहेको छ।

यस आयोजनाको बाँध पिलुचौरमा निर्माण गरिनेछ। आयोजनाका अनुसार बाँध २ सय ८५ मिटर अग्लो हुनेछ। ड्यामकै आसपासमा आयोजनाको पावर हाउस निर्माण हुने र त्यसका लागि पनि हाल अध्ययन भइरहेको छ। 


प्रकाशित : बिहीबार , माघ २४ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend