बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सञ्चार मन्त्रालयले भन्यो - दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ

सोमबार, माघ २१ २०८१
सञ्चार मन्त्रालयले भन्यो - दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ

सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने सूचनामा उल्लेख छ।

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता गर्न आग्रह गरेको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको हो।

मन्त्रालयले सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत आग्रह गरेको छ। निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ। यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ।

उक्त निर्देशिकाबमोजिम हालसम्म नेपालमा भाइबर र टिकटकमात्रै नेपालमा दर्ता भएका छन्। हाल फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन्।

पटकपटकको आग्रहलाई समेत बेवास्ता गरेपछि मन्त्रालयले बाध्य भएर सूचना प्रकाशन गर्नुपरेको जनाएको छ। यसअघि नै मेटाका आधिकारिक व्यक्तिले दर्ताका लागि चासो देखाएपछि मन्त्रालय मौन बसेको थियो। तर, चासो देखाएको लामो समयसम्म पनि दर्ताका प्रक्रिया सुरु नभएपछि मन्त्रालयले पत्र सार्वजनिक गर्दै दर्ताका लागि पुन: आग्रह गरेको हो।

निर्देशिकाअनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने सूचनामा उल्लेख छ। यसबाहेक सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवर्द्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवर्द्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

०८१ माघ १५ मा राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको व्यवस्था गर्न बनेको विधेयकमा पनि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ। यसबीच मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।


प्रकाशित : सोमबार, माघ २१ २०८११६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend