बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १४ २०७८
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

काठमाडौं- भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ। 

वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पुर्‍याइ नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो अपिल गरेको हो। 

राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो। 

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न विचौलियाविरुद्ध उजुरीहरू प्राप्त भएको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए। 

'विदेशमा रोजगारीको अवसर प्राप्त भइसकेपछि यस मन्त्रालयअन्तर्गत निकायबाट श्रम स्वीकृति नलिई विभिन्न वहानामा वैदेशिक रोजगारीमा जानु पूर्णतः गैरकानूनी कार्य हो', उनले भने। वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।

सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ।

श्रम मन्त्रालयलेसमेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र यस मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ। वैदेशिक रोजगार ऐन, २०६४ र यसअन्तर्गत बनेका नियमका अधिनमा रही सरकार, इजाजतपत्र प्राप्त संस्थाहरु (मेनपावर कम्पनी) र व्यक्ति स्वयम् जिम्मेवार भई वैदेशिक रोजगारीमा पठाउन सकिने व्यवस्था छ। रासस


प्रकाशित : शुक्रबार, माघ १४ २०७८११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend