बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटा नेक्सन केथ्रीको मूल्य ४८ लाख ९९ हजार, बुकिङ खुल्यो

आइतबार, माघ २० २०८१
टाटा नेक्सन केथ्रीको मूल्य ४८ लाख ९९ हजार, बुकिङ खुल्यो

प्यानारोमिक सनरुफदेखि ३६० डिग्री क्यामरासम्मका विशेषता उपलब्ध रहेको नयाँ नेक्सन केथ्री निकै आकर्षक डिजाइनमा आएको छ। नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

काठमाडौं- टाटा नेक्सन ईभीको नयाँ भर्सन नेक्सन केथ्री डट ईभीको मूल्य सार्वजनिक भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आइतबार एक कार्यक्रमबीच नेक्सन केथ्रीको मूल्य घोषणा गरेको हो। 

पूर्णतः नयाँ डिजाइन र ठूलो ब्याट्री प्याकमा आएको नेक्सन केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। मूल्य सार्वजनिक गरेसँगै सिप्रदीले आइतबारबाटै नेक्सन केथ्रीको बुकिङसमेत खुला गरेको छ। 

प्यानारोमिक सनरुफदेखि ३६० डिग्री क्यामरासम्मका विशेषता उपलब्ध रहेको नयाँ नेक्सन केथ्री निकै आकर्षक डिजाइनमा आएको छ। नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 

नेक्सन केथ्रीमा ९८ किलोवाट पिकपावरको मोटर रहेको छ भने यसको अधिकतम पावर १ सय ४८ बीएचपी छ। त्यस्तै यसले २ सय १५ एनएम टर्क जेनेरेट गर्छ। लिथियम आयन ब्याट्री भएको नेक्सन केथ्री ७.२ किलोवाटको एसी चार्जरले साढे ६ घण्टामा १० देखि १ सय प्रतिशत र ६० किलोवाटको डीसीले १० देखि १ सय प्रतिशत चार्ज हुन ४० मिनेट लाग्ने कम्पनीले जनाएको छ। 

Nexon-K3 tata.jpg

नेक्सन केथ्रीमा ४ लेवलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको छ। यो विद्युतीय एसयूभीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.९ सेकेन्टमा तय गर्नसक्छ। 

एआरएआई सर्टिफाइड रेन्ज ४ सय ८० किलोमिटर रहे पनि रियल वल्र्डमा नेक्सन केथ्री ईएलआरले ३ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिने अनुमान गरिएको छ। सिप्रदीले यसलाई काठमाडौं उपत्यका, तराईको समथर सडक र पहाडी चढाइमा परीक्षण गरिरहेको छ। 

३ सय ५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्रीको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ। त्यस्तै यो विद्युतीय एसयूभीको ह्वीलबेस २४ सय ९८ एमएम रहेको छ। 

सुरक्षामा नेक्सन केथ्री पनि अब्बल सावित भएको छ। भारत एनसीएपीमा नेक्सन केथ्रीले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ। 

नेक्सन केथ्रीको मूल्य सार्वजनिक गरेर बुकिङ खुलाएको सिप्रदीले केही दिनबाटै उक्त विद्युतीय एसयूभीको औपचारिक बिक्री सुरु गर्ने जनाएको छ। 


प्रकाशित : आइतबार, माघ २० २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend