बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय सवारीको दबदबा बढ्दै जाँदा टोयोटाले कसरी जोगाउला सर्वाधिक कार बिक्रीको ताज?

शनिबार, माघ १९ २०८१
विद्युतीय सवारीको दबदबा बढ्दै जाँदा टोयोटाले कसरी जोगाउला सर्वाधिक कार बिक्रीको ताज?

यता फक्सवागनले २०२४ मा ९० लाख सवारी बिक्री गर्दा ७ लाख ४५ हजार वटा विद्युतीय कार बिक्री गरेको थियो। यो कुल सवारी बिक्रीमा विद्युतीयको हिस्सा करिब ८ प्रतिशत हो।

काठमाडौं- पछिल्लो पाँच वर्षयता जापानी सवारी उत्पादक कम्पनी टोयोटा लगातार विश्वको सर्वाधिक कार बिक्रेता बन्दै आएको छ। त्यसअघि पनि कुनैकुनै वर्षमा जर्मन कार उत्पादक समूह फक्सवागनलाई उछिन्दै टोयोटा सर्वाधिक कार बिक्री गर्ने कम्पनी बन्ने गरेको थियो। 

मुख्यतः २०२० पछि विश्वभर आईसी इन्जिन कार र हाइब्रिड कारको दुनियाँमा ब्याट्रीमा आधारित विद्युतीय कारको नयाँ वर्ग जबरजस्त उदय भएर आएको छ। २०२५ सम्म आइपुग्दा बीईभी उदयमात्र होइन मेन स्ट्रिम बन्ने लयमा अघि लागिसकेको छ। यही सन्दर्भमा परम्परागत कार उत्पादकहरू (आईसी इन्जिन)हरू माथि ठूलो दबाब परेको छ। 

त्यसमा पनि विकसित देशहरूमा ‘आम मानिसको कार’ बनाउँदै आएको टोयोटाका लागि अझ धेरै दबाब परेको हुनुपर्छ। २०२४ मा पनि विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी बनेको टोयोटाका लागि विद्युतीय कार मेन स्ट्रिम बन्दै गर्दा सर्वाधिक कार बिक्री गर्ने कम्पनीको ताज कहिलेसम्म टिकाउने र कसरी टिकाउने भन्ने प्रश्न उब्जिएको छ। 

विद्युतीय कार उत्पादनसँगै ब्याट्री प्लान्टमा पनि टोयोटाले लगानी गरिरहेको र ठूलो लगानीको योजना त बनाएको छ। तर टोयोटाले मास संख्यामा विद्युतीय कार बनाउन थाल्दा अन्य कम्पनी यो रेसमा धेरै अघि पुगिसकेको हुन सक्छन्। किन कि २०२४ मा टोयोटाले बिक्री गरेको कुल सवारीमा विद्युतीयको हिस्सा १.४ प्रतिशतमात्र रहेको छ। जब कि टेस्लाले वार्षिक करिब २० लाख विद्युतीय कार बिक्री गर्न थालिसकेको छ। त्यस्तै अन्य चिनियाँ कम्पनीहरूले पनि विद्युतीय कार उत्पादन र बिक्रीलाई उच्च प्राथमिकतामा राखेर राम्रो संख्या निकाल्न थालिसकेका छन्। 

sunra test drive.jpg

टोयोटा मोटरले २०२४ मा १ करोड ८ लाख वटा सवारी बिक्री गरेको छ। योसँगै टोयोटा लगातार पाँचौँ पटक विश्वको सर्वाधिक सवारी बिक्रेता कम्पनी बनेको छ। २०२४ मा टोयोटा मोटर ग्रुपअन्तर्गतका कम्पनीहरूको बिक्री ३.७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ। यसमा डाइहात्सुका कार र हिनो मोटर्सको ट्रक बिक्री घट्दा समग्र बिक्रीमा प्रभाव परेको हो। 

गत वर्ष दोस्रो धेरै कार बिक्री गर्ने कम्पनीमा फक्सवागन रहेको छ। जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनको कार बिक्री गत वर्ष २.३ प्रतिशतले कमी आएको थियो। २०२४ मा फक्सवागन ग्रुपले विश्वभर ९० लाख वटाभन्दा धेरै सवारी बिक्री गरेको थियो। 

फक्सवागन ग्रुपको सवारी बिक्री कम हुनुमा जर्मनीमा कम्पनीले गरेको खर्च कटौती र चीनमा भएको प्राइस वार मुख्य कारण बनेको हो। टोयोटा र लेक्सस ब्रान्डको मात्र हिसाब गर्दा २०२४ मा बिक्री १.४ प्रतिशतले घटेर १ करोड २ लाख वटा सवारी बिक्री गएको थियो। जापानमै टोयोटा ग्रुपको कार बिक्री गत वर्ष दोहोरो अंकले घटेको थियो। 

टोयोटाको कार बिक्री सर्वाधिक हुनुमा अमेरिकालगायत देशमा हाइब्रिड कारको माग बढ्नु हो। चीनमा भने २०२४ मा टोयोटाको कार बिक्री ६.९ प्रतिशतले घटेको थियो। चीनमा विद्युतीय कारको बिक्री र माग बढेकाले टोयोटाले आफ्नो बिक्री हिस्सा गुमाएको हो। 

टोयोटाको आईसी इन्जिन र हाइब्रिड कारको बिक्री ४० प्रतिशतले बढेको थियो भने ब्याट्री इलेक्ट्रिक सवारीको हिस्सा १.४ प्रतिशतमात्र रहेको छ। 

sunra test drive.jpg

टोयोटा र लेक्ससको गरेर २०२४ मा १ लाख ३९ हजार ८ सय ९२ वटामात्र विद्युतीय कार बिक्री भएको थियो। 

यता फक्सवागनले २०२४ मा ९० लाख सवारी बिक्री गर्दा ७ लाख ४५ हजार वटा विद्युतीय कार बिक्री गरेको थियो। यो कुल सवारी बिक्रीमा विद्युतीयको हिस्सा करिब ८ प्रतिशत हो। 

यसैगरी विश्वको तेस्रो धेरै कार बिक्री गर्ने समूह हो हुन्डाई मोटर ग्रुप। २०२४ मा हुन्डाई मोटर ग्रुपले ७२ लाख कार बिक्री गरेको थियो। यो २०२३ को तुलनामा करिब १ प्रतिशतले कम हो। हुन्डाई र किया ब्रान्डमा कार बिक्री गर्ने यो समूहले २०२४ मा २ लाख विद्युतीय सवारी बिक्री गरेको थियो। 

फक्सवागन ग्रुप र हुन्डाई मोटर ग्रुपको तुलनामा टोयोटाको विद्युतीय कार बिक्री निक्कै कम रहेको छ। अमेरिकी कम्पनी फोर्ड, जनरल मोटरलगायत पनि विद्युतीय कारका लागि संघर्ष गरिरहेका छन्। विद्युतीय सवारीको माग र बिक्री बढ्दै जाने र परम्परागत ठूला प्लेयरहरूले सोहीअनुसार विद्युतीय सवारीमा केन्द्रित भएनन् वा हुन सकेनन् भने उनीहरूको अस्थित्व नै संकटतर्फ जान सक्छ। 


प्रकाशित : शनिबार, माघ १९ २०८११२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend