बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चार बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने

शुक्रबार, माघ १८ २०८१
मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चार बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने

निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ।

काठमाडौं- मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चार बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागको छ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहु जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाइमा लगानीसम्बन्धी सम्झौतामा आज शुक्रबार हस्ताक्षर भएको हो।

लगानी सम्झौता एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि बिकास बैंक र सिद्धार्थ बैंकको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता गरिएको हो।

हाल चार वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ। निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ।

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैंक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब र कृषि बिकास बैंक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन्।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ। डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्नपूर्व आवश्यक ड्यू डेलिजेन्स स्टडी अगाडि बढाएको कम्पनीका अध्यक्षले बताए। यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

आयोजनाको नेपाल विद्युत प्राधिकरण सँग २०८० साल कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइ व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ। आयोजना प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सलटेन्स प्रालि रहेको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको छ कम्पनीका अध्यक्षले बताएका छन्।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सवस्टेशनमा २२०/१३२ केभी मा जोडिने छ।


प्रकाशित : शुक्रबार, माघ १८ २०८११६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend