बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाद्वारा अवरोध

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाद्वारा अवरोध

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो। उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन्।

काठमाडौं- प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गरे। त्यसलगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

त्यसलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो। यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए। कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो। उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन्।

आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ। त्यस्तै अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ। 
      
अधिवेशनको पहिलो दिन सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ बैठकमा पेस हुने जनाइएको छ। 


प्रकाशित : शुक्रबार, माघ १८ २०८११३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend