बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौं आइपुग्यो नेक्सन केथ्री ईएलआर, यस्तो छ ब्याट्री, रेन्ज र मूल्य

आगामी सातादेखि बुकिङ खुल्ने

शुक्रबार, माघ १८ २०८१
काठमाडौं आइपुग्यो नेक्सन केथ्री ईएलआर, यस्तो छ ब्याट्री, रेन्ज र मूल्य

नेक्सन केथ्रीमा ९८ किलोवाट पिकपावरको मोटर छ भने यसको अधिकतम पावर १ सय ४८ बीएचपी हुनेछ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय कार नेक्सन केथ्री ईएलआर काठमाडौं आइपुगेको छ। ठूलो ब्याट्री र आकर्षक डिजाइनमा तयार भएको नेक्सन केथ्री टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भित्र्याएको हो। 

नेपाली बजारमा नेक्सन ईभी सफल विद्युतीय कारका रुपमा छ। एआएएआई रेन्जको तुलनामा केही कम रेन्ज यसअघिको नेक्सनले दिँदै आएको छ। यही कुरालाई विशेष ध्यानमा राखेर टाटा मोटर्सले नयाँ नेक्सन केथ्री ईएलआरमा ४५ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। 

सिप्रदीले परीक्षणलगायतको कम गरिरहेको र त्यो सकिएपछि नेक्सन केथ्री ईएलआरको रियल वर्ल्ड रेन्ज टेस्ट गरेलगत्तै नेपाली बजार उक्त विद्युतीय एसयूभी बिक्रीका लागि सार्वजनिक गर्ने तयारी गरेको छ। यसअघि आएको टाटा पन्च पनि सिप्रदीले रियल वर्ल्ड परीक्षण गरेर प्राप्त रेन्जलाई नै वास्तिवक रेन्ज घोषणा गरेर बिक्री थालेको थियो। 

यसअघिको नेक्सन ईभीभन्दा डिजाइनमा पनि निकै परिमार्जन भएर आएको छ नेक्सन केथ्री ईएलआर। पहिले नेक्सनमा ३० किलोवाट आवर र नेक्सन म्याक्समा ४० किलोवाट आवरको ब्याट्री प्याक थियो। नेक्सन म्याक्सको सार्वजनिक हुँदा ४६ लाख ४९ हजार रुपैयाँबाट बिक्री थालिएको थियो। नयाँ नेक्सन केथ्री ईएलआरमा ४५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। 

nexon k3 2.jpeg

प्यानारोमिक सनरुफदेखि ३६० डिग्री क्यामरासम्मका विशेषता उपलब्ध रहेको नयाँ नेक्सन केथ्री ईएलआर ५० लाख रुपैयाँभन्दा कममै सार्वजनिक हुने कम्पनी स्रोतले बताएको छ। यो सेगमेन्टमा विद्युतीय एसयूभीबीच कडा प्रतिस्पर्धा रहेको र प्रतिस्पर्धी मोडल अझै थमिने क्रममा रहेकाले सिप्रदीले नेक्सन केथ्री ईएलआर प्रतिस्पर्धी मूल्यमै सार्वजनिक गर्ने अनुमान गरिएको छ। 

नेक्सन केथ्रीमा ९८ किलोवाट पिकपावरको मोटर छ भने यसको अधिकतम पावर १ सय ४८ बीएचपी हुनेछ। त्यस्तै यसले २ सय १५ एनएम टर्क जेनेरेट गर्छ। लिथियम आयन ब्याट्री भएको नेक्सन केथ्री ७.२ किलोवाटको एसी चार्जरले साढे ६ घण्टामा १० देखि १ सय प्रतिशत र ६० किलोवाटको डीसीले १० देखि १ सय प्रतिशत चार्ज हुन ४० मिनेट लाग्ने कम्पनीले जनाएको छ। 

नेक्सन केथ्रीमा ४ लेवलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको छ। यो विद्युतीय एसयूभीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.९ सेकेन्टमा तय गर्नसक्छ। 

nexon k3 1.jpeg

एआरएआई सर्टिफाइड रेन्ज ४ सय ८० किलोमिटर रहे पनि रियल वर्ल्डमा नेक्सन केथ्री ईएलआरले ३ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिने अनुमान गरिएको छ। सिप्रदीले यसलाई काठमाडौं उपत्यका, तराईको समथर सडक र पहाडी चढाइमा परीक्षण गरिरहेकाले नेक्सन केथ्री ईएलआरले रियल वर्ल्डमा कति रेन्ज दिन्छ, त्यो गाडी सार्वजनिक गर्ने क्रममा थाहा हुनेछ। 

३ सय ५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्रीको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ। त्यस्तै यो विद्युतीय एसयूभीको ह्वीलबेस २४ सय ९८ एमएम रहेको छ। 

सुरक्षामा नेक्सन केथ्री पनि अब्बल सावित भएको छ। भारत एनसीएपीमा नेक्सन केथ्रीले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ। 


प्रकाशित : शुक्रबार, माघ १८ २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend