बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चिनियाँ एआई स्टार्टप डीपसीकमाथि युरोप र अमेरिकामा कडाइको तयारी

शुक्रबार, माघ १८ २०८१
चिनियाँ एआई स्टार्टप डीपसीकमाथि युरोप र अमेरिकामा कडाइको तयारी

अमेरिकी सरकारले डीपसीकको डेटा सुरक्षा र चिनियाँ सरकारको पहुँच र हस्तक्षेपको अनुसन्धान गर्न सुरू गरिसकेको छ। त्यस्तै फ्रान्सले पनि यस्तै विषयमा  अनुसन्धान अघि बढाएको छ।

काठमाडौं- अमेरिकी प्रतिबन्धकै बीचबाट चिनियाँ कम्पनी डीपसीकले विकास गरेको एआई मोडलको लोकप्रियता बढ्दै गएपछि युरोप र अमेरिकामा कडाइ गर्ने तयारी भएको छ। 

अमेरिकामा एप्पलको एपस्टोरमा च्याटजीपीटीलाई उछिनेकोमात्र होइन संसारका धेरै देशमा यसले च्याटजीपीटीलाई उछिन्ने सम्भावना देखिएको छ। यो सम्भावना देखेपछि पश्चिमा सरकारहरू डीपसीकसँग त्रसित भएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी एआई कम्पनीहरूका लागि चिनियाँ कम्पनीको यो नयाँ मोडल चेतावनी भएको बताइसकेका छन्। डीपसीकको लोकप्रियता धेरे बढ्न थालेपछि यसको सूचना सुरक्षाका पक्षमा पश्चिमा सरकारले अनुसन्धान सुरू गरेका छन्। 

अमेरिकी सरकारले डीपसीकको डेटा सुरक्षा र चिनियाँ सरकारको पहुँच र हस्तक्षेपको अनुसन्धान गर्न सुरू गरिसकेको छ। त्यस्तै फ्रान्सले पनि यस्तै विषयमा  अनुसन्धान अघि बढाएको छ। 

डीपसीको एआई च्याटबटले विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टी र त्यसका नेताका बारेमा जवाफ दिइरहेको छैन। त्यस्तै चिनियाँ सत्ताले गरेका नरसंहर र चीनको सीमा विवादमा मौन बस्ने गरेको छ। यसलाई धेरैले चिनियाँ सरकारको सेन्सर भएको एआई भनिरहेका छन्। 

कुनै निश्चित सरकारले दिन चाहेको सूचनामात्र दिने एआई च्याटबट सभ्य लोकतन्त्रका लागि पाच्य नहुने भन्दै पश्चिमा सरकारमात्र होइन कयौंले प्रश्न उठाउनका थालेका छन्। 

आधुनिक र महंगा चिपमा आधारित एआई च्याटबट तथा लार्जल्यांग्वेज मोडल विकास गर्दै आएका अमेरकी कम्पनीहरूको तुलनामा यो चिनियाँ कम्पनीले पूराना र सस्ता चिपबाट विकास गरेको थियो। निकै सस्तोमा बनेकाले यसले नि:शुल्क सेवा दिइरहेको छ। यही भएर चीप बनाउने कम्पनी एनभीडीयाको सेयरमा पहिरो गएको थियो। 

सस्तो र सजिलो भएकाले यसले ओपन एआई, जिमिनाइ जस्ता मोडललाई सजिलै पछि पार्ने सम्भावना देखिएको छ। डीपसीकसँगै अन्य चिनयाँ ठूला कम्पनीहरूले पनि एआई मोडल ल्याइरहेका छन्। अलिबाबा, बाइडेन्सले पनि ल्याइरहेका छन्।

तर चिनियाँ कम्पनीले विकास गरेको च्याटबट चिनियाँ सरकारको सेन्सरयुक्त हुने र डेटामा सरकारी पहुँच हुने धेरैको डर रहेको छ। यही जोखिममा टेकेर पश्चिमा सरकारहरूले चिनियाँ प्रविधिमाथि फेरि अर्को प्रहार गर्ने तयारीमा रहेका छन्। 


प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend