बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन्।

काठमाडौं- संघीय संसद्को अधिवेशन आज अपराह्न १ बजे हुँदैछ। हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ।

सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ। 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्ने छन्। 

बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन्। 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने छन्। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने छन्। 

यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लगायत अध्यादेश पनि पेस गर्ने कार्यसूची छ। 

कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने छन्।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने छन्। रासस


प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend