शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बेनी-दरवाङ सडक : रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरू

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
बेनी-दरवाङ सडक : रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरू

पहिरो प्रभावित क्षेत्रलाई ठेक्काबाट हटाइएको छ। मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको छ।

म्याग्दी- जिल्लाको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ।

रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताए। 

'फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट (बिटुमीन) बिछ्याएर ‘फस्टकोट’ (बिटुमिन र चिप्स) राख्न थालिएको हो', उनले भने, 'बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ।'

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो।

मङ्गला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा-क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो। विसं २०७८ जेठमा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ।

निर्माण कम्पनीका प्राविधिक देवराज राउतले चालु आर्थिक वर्षभित्र नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताए। पर्याप्त बजेट विनियोजन नहुनु, नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका कारण ढिलाइ भएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताए।  

गत वर्ष पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि एक करोड ५० लाख विनियोजन भएको छ। म्याग्दीको लाइफ लाइन (भाग्यरेखा) मानिएको बेनी-दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए। 

सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको मङ्गला गाउँपालिका-२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए। कामलाई गुणस्तरीय बनाउन निगरानीका साथै सामाजिक समस्या समाधानका लागि सहजीकरण र समन्वय गरेको उनले बताए। सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ। पहिरो प्रभावित क्षेत्रलाई ठेक्काबाट हटाइएको छ। मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको छ। 

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको यो सडकमार्ग २०६३ सालमा खुलेको थियो। बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले रणनीतिक महत्त्वको मानिएको छ। 

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर तीन वर्षअघि कालोपत्र भएको थियो। सिम-पानाबगर खण्डको चार किलोमिटर सडकको गत जेठमा काम सकिएको छ। दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न एक योजना चालु रहेको र थप एक अर्ब बजेटको योजना कार्यान्वयनको प्रक्रियामा रहेको म्याग्दी क्षेत्र नं १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए।

'धारापानी-ताकम-शिवाङ खण्डको चार किलोमिटर कालोपत्र र ग्राभेलका लागि धमाधम काम भइरहेको छ', उनले भने, 'गत वर्ष ग्राभेल भएको दरवाङ-धारापानी खण्डको सात किलोमिटर र शिवाङबाट मुना खण्डको सडक कालोपत्र गर्न सङ्घीय र प्रदेश सरकारको साझेदारीमा रू एक अर्ब बजेटको योजनाको ठेक्का आह्वानको तयारी भएको छ।'

गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले काम भइरहेका र सम्पन्न हुने चरणमा रहेका योजनामा बजेट अभाव भएकाले मुख्यमन्त्री र विभागीय मन्त्रीलाई थप बजेट व्यवस्था र रकमान्तरका लागि पहल गरेको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend