बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतको नयाँ दिल्लीमा ११औँ अटो ट्रेड डायलग सम्पन्न

बुधबार, माघ ९ २०८१
भारतको नयाँ दिल्लीमा ११औँ अटो ट्रेड डायलग सम्पन्न

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानेल छलफलमा प्यानलिस्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राखेका थिए।

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफयार्चस (एसआईएएम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा २० जनवरीमा ११औँ अटो ट्रेड डायलग सम्पन्न भएको छ।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानेल छलफलमा प्यानलिस्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राखेका थिए। 

नेपालको अटोमोबाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारीसमेत अध्यक्ष चौधरीले दिएका थिए। सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भइरहेको प्रयासबारे बताउँदै नेपाल सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बली प्लान्ट हुँदै उद्योगतर्फ अग्रसर हुनलागेको जानकारी दिए। 

प्यानलिस्टको रुपमा बोल्दै अध्यक्ष चौधरीले नेपालमा आईसी गाडीहरुको आयात घट्दै गएको भए पनि नेपाल सरकारले ग्रीन इनर्जीलाई उच्च प्राथमिकतामा राखेको फलस्वरुप नेपालमा विद्युतीय सवारी साधनहरुको आयात हरेक वर्ष बढ्दै गएको र सोही अनुरुप चार्जिङ स्टेसनहरु पनि क्रमशः थपिँदै गएको बताए। यसै क्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतीय सवारी साधनहरुको हव बन्दै गएको उल्लेख गरे। 

११ औँ अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाई कमिस्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एन्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एचई केन्नेथ एफएच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इन्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्स एन्ड इन्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्रीनिवासलेसमेत सम्बोधन गरेका थिए। 

उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा व्यापार सझौतामामा एकीकृत लगानी, दोश्रो चरणमा स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षकअन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधिलगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरुले प्यानलिष्टका रुपमा आ-आफनो धारणा राखेका थिए।  

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटी अन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमन्डल भारत भ्रमणमा रहेको छ। सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उप्रेती केन्द्रीय कार्यसमितिको सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधानसमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : बुधबार, माघ ९ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend