शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

पर्यटन बोर्डका उपाध्यक्ष रिजालले टान अध्यक्ष हुँदा सरकारी राजस्वबाटै गरेका थिए मनपरी खर्च

images
बिहीबार , माघ १३ २०७८
images
पर्यटन बोर्डका उपाध्यक्ष रिजालले टान अध्यक्ष हुँदा सरकारी राजस्वबाटै गरेका थिए मनपरी खर्च

रिजाल आफै अहिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई कारबाही गर्न बोर्डमा गठन भएको छानविन समितिको संयोजकसमेत रहेका छन्।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा अध्यक्ष हुँदा सरकारी राजस्वलाई मनपरी खर्च गरेको तथ्य फेला परेको छ। तत्कालीन अध्यक्ष रिजालले पदयात्रामा जाने पर्यटकबाट 'पर्यटक सूचना–व्यवस्थापन प्रणाली' (टिम्स कार्ड) मार्फत उठाइएको रकममा मनपरी खर्च गरेको तथ्य फेला परेको हो। 

images
images
images

रिजाल आफै अहिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीमाथि छानबिन गर्न बनेको समितिको संयोजकसमेत रहेका छन्। लेखा परिक्षणको क्रममा छानबिन गर्ने व्यक्तिकै सवा करोडभन्दा बढी रकम वर्षौंदेखि बेरुजु रहेको देखिएको छ। 

images
images

वर्षौंदेखि उक्त हिसाब किताब लुकाइएको भए पनि केही समय अगाडिमात्रै टानको लेखा परिक्षण गराउँदा रिजालको कार्यकालमा मात्रै १ करोड २१ लाख २१ हजार ३ सय ८७ रूपैयाँ बेरुजु निस्किएको छ।

images
images

रिजालले आफ्नो दुई वर्षे कार्यकालमा उक्त रकम बिनाआधार खर्च गरेकोसमेत लेखा परिक्षणमा देखिएको छ। उनले टानमा हुने चिया खर्चदेखि विदेश भ्रमणमा समेत सोही टिम्स कार्डमार्फत उठेको पैसा खर्च गरेको पाइएको छ। रिजाल टान अध्यक्षमा २०७२ असोज २८ मा निर्वाचित भएका थिए। 

२०७२ असोजदेखि २०७४ असोजसम्मको लेखापरिक्षणमा ठूलो रकम हिनामिना भएको पाइएको समेत लेखा परिक्षणबाट भेटिएको छ। रिजालले कुनै पनि रकमको हरहिसाब राखेका छैनन् भने हिसाब राखिएको पनि बील भरपाइ नै राखिएको छैन। 

लेखा परिक्षणअनुसार १६ लाख ५९ हजार ७ सय ७५ रूपैयाँको खर्च प्रायः होटल र स्टेशनरी खर्चमा देखिएको छ। विदेशमा प्रवर्द्धनको नाममा ४२ लाख ६२ हजार ९ सय ७५ रूपैयाँ खर्च गरेको छ। सिकागोमा मात्रै १० लाख ३१ हजार रूपैयाँ खर्च देखिएको छ। तर उक्त कार्यक्रमको खर्च भने दुरुस्त गरिएको छैन। डालस भिजिट भन्दै १० लाख २१ हजार रूपैयाँ खर्च गरिएको छ। यस्तै दर्जनौँ देशको भ्रमणमा लाखौँ रूपैयाँ खर्च गरिएको पाइएको छ। 

टिम्सको पैसाको हिसाब किताब समयमा नगर्दा धेरै समस्या आएको देखिएको टानका अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन्। यसमा बोर्डको पनि केही कमजोरी रहेको पाइएको अध्यक्ष सुवेदी बताउँछन्।

‘टानसँग समयमै फर्छ्यौट गर्न नलगाउँदा पनि बेरुजु धेरै लामो समयदेखि रहेको छ,’ अध्यक्ष सुवेदीले भने। निगरानी गर्ने निकाय बोर्डले ठीक ठाउँमा खर्च भएको नभएको हेर्नुपर्नेमा अध्यक्ष सुवेदीको जोड छ। 

२०६६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, टान र नेपाल पर्यटन बोर्डबीच त्रिपक्षीय सम्झौता भएपछि पर्यटकबाट टिम्स कार्डमार्फत दस्तुर उठाउन सुरु गरिएको थियो। सम्झौताअनुसार उठाइएको दस्तुरको ३० प्रतिशत बोर्डले, ३० प्रतिशत नेपाल सरकार, ३० प्रतिशत टान र १० प्रतिशत मजदूर कोषमा रहनेगरी सम्झौता गरिएको थियो। 

टिम्स कार्डमार्फत उठेको रकम एक तिहाइ रकम टानले पूर्वाधार विकासमा लगनी गर्ने र एक तिहाइ रकम भने पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन उद्योग महाशाखा, नेपाल पर्यटन बोर्ड र टानको संयुक्त खातामा रहने व्यवस्था रहेको छ। 

पर्यटकहरूले ट्रेकिङ एजेन्सीमार्फत पदयात्रमा जाने पर्यटकको लागि प्रतिव्यक्ति १० डलर र आफूखुसी घुम्न जाने पर्यटकको लागि प्रतिव्यक्ति २० डलर टान र नेपाल पर्यटन बोर्डमार्फत उठाउँदै आएको छ। हालसम्म टिम्स कार्डमार्फत झन्डै २० करोड रूपैयाँ संकलन भइसकेको छ। 

टानले अवैधानिक व्यवसायीहरूलाई निरुत्साहित गर्न भन्दै टिम्स कार्ड लागु गर्न मन्त्रालयसँग माग गरेको थियो। तर भनिएअनुसार काम भने भएको छैन। टिम्सको रकमलाई लिएर महालेखाले पनि प्रश्न उठाउँदै आएको छ। टिम्स कार्डमार्फत उठ्ने रकम राजश्व भएकोले कुनै पनि व्यावसायिक संस्थालाई उठाउन नदिन प्रतिवेदनमा उल्लेख गरिँदै आएको छ। 


प्रकाशित : बिहीबार , माघ १३ २०७८०५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend