बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिगेसी अपरेटरका लागि टाउको दुखाइ बनिरहेको मस्कको स्टारलिंक

बिहीबार , माघ ३ २०८१
लिगेसी अपरेटरका लागि टाउको दुखाइ बनिरहेको मस्कको स्टारलिंक

नेपाल जस्ता देशमा व्यापार र रणनीतिक लाभभन्दा पनि स्टारलिंकलाई युनिभर्सल सञ्चार परियोजनाका रुपमा स्थापित गर्ने योजनालाई साकार पार्न सम्भव भएका सबै देशमा स्थापित गर्दै जाने उनको नीति रहेको छ।

काठमाडौं- विश्वकै धनाढ्य अमेरिकी उद्यमी एलन मस्कको स्याटेलाइट इन्टरनेटसम्बन्धीको सेवा दिने स्टारलिंक नेपालमा पनि आउने तरखर गरिरहेको छ। 

स्टारलिंकलाई नेपालमा स्वागत गर्त तत्पर रहेको सन्देश धेरैले दिएपनि भित्री रुपमा भने सबैले रोक्न खोजिरहेको कुरा कतैबाट लुकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले त मस्कसँगको भिडियो कल गरेको फोटो नै सार्वजनिक गरेर स्टारलिंकलाई नेपालमा स्वागत गर्न सरकार उदार रहेको सन्देश पनि दिएका थिए। 

प्रधानमन्त्रीमात्र होइन स्टारलिंकसँग डराएका र आउन नदिन खोजिरहेका अहिलेका लिगेशी अपरेटरहरूले पनि आफूहरू नै ल्याउन लागेको भनेरसमेत वक्तव्य दिइरहेका छन्। बाहिर देखाउने र भन्ने कुरा एउटा हो, भित्री रुपमा भने सबैले स्टारलिंकलाई रोक्न खोजिरहेका छन्। 

नेपालको अहिलेसम्मको अभ्यास र विश्व व्यापार संगठनमा नेपालले दर्ज गराएको संरक्षणवादी नीतिअनुसार दूरसञ्चारमा विदेशीलाई पूर्ण स्वामित्व रोकिएको छ। २० प्रतिशत स्थानीय स्वामित्व नभए स्टारलिंक अहिले आउन नसक्ने कुरा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले नै भनिसकेका छन्। 

नियमन कानून तथा अभ्यासले आउन नमिल्ने कुराभन्दा पनि आउन नदिने पक्षमा धेरै रहेका छन्। अहिलेका लिगेसी अपरेटरहरू धेरै त्रसित भएका छन्। पछिल्लो समय 'डाइरेक्ट टु सेल' सेवासमेत सार्वजनिक गरिसकेको स्टारलिंक आउँदा इन्टरनेट र सञ्चारको व्यापारको गणित पूरै उलटफेर हुने दिन धेरै टाढा छैन। 

नेपालमात्र होइन धेरै देशमा लिगेसी अपरेटरका लागि टाउको दुखाइ बनेको छ स्टारलिंक। संसारका धेरै देशमा अहिले यसले यही समस्या झेलिरहेको छ। 

यसले स्याटेलाइट नेटवर्कबाटै भ्वाइस कलको सुविधा ल्याएको छ। अहिले युक्रेनमा यो सुविधा उपलब्ध भएको छ। डेटासँगै कल सुविधा पनि प्याकेजमा ल्याउने स्टारलिंकले तयारी गरेको छ। यो भयो भने संसारमा अहिलेसम्म दूरसञ्चारमा भएको लगानी, यसकै लाइसेन्स पाउन भइरहेको माथापच्ची सबै निरर्थक हुनेछ। 

मरूभूमीदेखि हिमालसम्म जहाँ पनि कल तथा डेटा सुविधा पुग्ने भएपछि यसको प्रयोग जति व्यापक हुन्छ उति नै सस्तो हुनेछ। अन्ततः यसलाई युनिभर्सल बनाउने मस्कको योजना छ। यदि सरकारहरू उदार बनिदिएको खण्डमा सञ्चारमा यसले ठूलै हलचल ल्याउने निश्चित छ।  

स्टारलिंकको यही डरले गर्दा संसारका केही देशले अनुमति दिन आनाकानी गरेका छन्। लिगेसी अपरेटरसँगको सहकार्यमा स्वागत गर्न तयार भए पनि लिगल र स्वतन्त्र सेवाको अनुमति दिन अस्वीकार गरेका छन्।

दक्षिण अफ्रिकाले स्थानीय साझेदारीबिना अनुमति नदिने अडान लिएको छ। त्यसै अरू देशले पनि त्यही सर्त राखेका छन्। तर फिलिपिन्स, अर्जेन्टिना र श्रीलंका जस्ता देशले स्टारलिंककै लागि नीति परिवर्तन गरेका थिए। 

अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका एक शक्तिशाली सल्लाहकार बनेपछि मस्कले त्यही शक्तिको दुरुपयोग गर्ने धेरैले आशंका गरेका छन्। दुनियाँकै शक्तिशाली कार्यालयमा पहुँच हुने मस्कले यसअघि नै प्रभाव विस्तार गर्न थालिसकेका छन्। 

दक्षिण अफ्रिकामा पछिल्लो समय उनले दबाब बढाएको भन्दै केही समयअघि ब्लुमबर्गमा समाचार प्रकाशित भएको थियो। 

नेपाल जस्ता देशमा व्यापार र रणनीतिक लाभभन्दा पनि स्टारलिंकलाई युनिभर्सल सञ्चार परियोजनाका रुपमा स्थापित गर्ने योजनालाई साकार पार्न सम्भव भएका सबै देशमा स्थापित गर्दै जाने मस्कको नीति रहेको छ। 


प्रकाशित : बिहीबार , माघ ३ २०८१०७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend