बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काँकरभिट्टा र विराटनगर नाकामा बढ्यो भन्सार असुली

बिहीबार , माघ ३ २०८१
काँकरभिट्टा र विराटनगर नाकामा बढ्यो भन्सार असुली

सम्पूर्ण भन्सारको ६० प्रतिशत पेट्रोलियम पदार्थको योगदान रहेको छ। त्यसबाहेक तरकारी, लसुन तथा यातायातका पार्टपुर्जा रहेका छन्।

इटहरी- कोशी प्रदेशका प्रमुख व्यापारिक नाका विराटनगर र काँकरभिट्टामा भन्सार असुलीको दर क्रमिक वृद्धि भइरहेको छ। विगतको अर्धवार्षिक अवस्थाको आधारमा तुलना गर्दा यसपटक सुधार देखिएको हो। भन्सारको लक्ष्यकै आधारमा हेर्दा विराटनगरभन्दा काँकरभिट्टा अब्बल देखिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा २० अर्ब ७ करोड लक्ष्य राखेको विराटनगरले १५ अर्ब ५० करोड असुली गरेको छ। अघिल्लो आर्थिक वर्षमा २५ अर्ब ३३ करोड लक्ष्य राखेर १५ अर्ब ४ करोड संकलन गरेको विराटनगरले तुलनात्मक रूपमा तीन प्रतिशत वृद्धि गरेको हो।

अघिल्लो वर्ष जम्मा ५९ प्रतिशत लक्ष्य हासिल गरेको भन्सार कार्यालयले चालु आवमा ७७.५५ प्रतिशत पुर्‍याउन सफल भएको छ।

उता काँकरभिट्टा नाकाले चालु आर्थिक वर्ष (२०८१/८२) को ६ महिनामा झण्डै शतप्रतिशत लक्ष्य हासिल गरेको छ। पुस मसान्तसम्मको १ अर्ब ४० करोड लक्ष्य राखेको भन्सार कार्यालयले ९६.२४ प्रतिशत लक्ष्य पूरा गर्दै १ अर्ब ३५ करोड ५६ लाख संकलन गरेको हो।

आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ अर्ब १० करोड ९१ लाख र २०८० पुससम्ममा १ अर्ब ११ करोड ३९ असुली गरेको काँकरभिट्टा भन्सारले क्रमिक वृद्धि गरेको हो।

mechi bhansar kakarbhitta jhapa.jpg

आयात कमजोर बन्दै गए पनि सबैभन्दा धेरै भन्सार असुलीमा पेट्रोलियम पदार्थ नै छन्। सम्पूर्ण भन्सारको ६० प्रतिशत पेट्रोलियम पदार्थको योगदान रहेको छ। त्यसबाहेक तरकारी, लसुन तथा यातायातका पार्टपुर्जा रहेका छन्।

नेपालबाट निर्यात हुने सामग्रीमा सबैभन्दा धेरै चिया रहेको छ। गत मंसिरसम्म मात्र एक अर्ब ५ करोडको चिया निर्यात भयो भने सोही समयमा ३५ करोड रूपैयाँ बराबरको अलैँची निर्यात भएको थियो। ३३ करोडको प्लाइउड र १४ करोडको भेनियर सिट काँकरभिट्टा नाकाबाट निर्यात भएको तथ्यांक छ।  

चालु आर्थिक वर्षको ६ महिनामा देशभरि ५ खर्ब ५९ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रूपैयाँ राजस्व असुली गरेको सरकारले ६३ अर्ब बढी संकलन गरेको हो।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले ८४ प्रतिशत पूरा गरेको हो। पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब राजस्व संकलन भएको जनाइएको छ।


प्रकाशित : बिहीबार , माघ ३ २०८११०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend