शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कालीगण्डकी लोकमार्ग : फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित, १ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २ २०८१
कालीगण्डकी लोकमार्ग : फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित, १ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति

उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भइ २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्षमात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो।

पर्वत- निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास-अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ। 
 
संघीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ।

लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास-अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो। 

उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भइ २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्षमात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो। कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुन सकेको थिएन। सांसद पदम गिरीले फलेवास-अर्मादी सडक खण्डको काम सुरु हुने बताए। 

यसअघि उक्त खण्डका लागि रु नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ विनियोजन भएको थियो। उक्त बजेटले फलेवास नगरपालिका-६ ढिकबाट कुश्मा नगरपालिका-४ अर्मादीसम्मको १४ किलोमिटर ट्र्याक खोलेको थियो। त्यसबाहेक अन्य काम भने हुनसकेको थिएन। मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्षमात्र खुलाइएको भए पनि सवारीसाधन सहज रूपमा चल्न सक्ने अवस्था छैन। 

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालयबाट बजेट सुनिश्चित भएसँगै अब उक्त खण्डको काम ठेक्का प्रक्रियामा जाने बताए।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ। यसअन्तर्गत सेतीवेणीबाट फलेवाससम्मको भाग कालोपत्र भइसकेको छभने मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी-जोमसोम-कोरला सडक आयोजनाले गरिरहेको छ।

अब बाँकी रहेको फलेवास-अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए। यो सडकले पर्वतको उत्तर-दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफ लाइनको रूपमा हेरिँदै आइएको छ। रासस 


प्रकाशित : बुधबार, माघ २ २०८११०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend