बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन

किर्ते आधिकारिक बिक्रेताबाट आएको गाडी कसरी जाँचपास हुन्छ?

बुधबार, माघ २ २०८१
ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन

उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नदिएकाले काइरोस इन्टरनेसनलले साउथ चाइना एक्जिम लिमिटेडसँग किर्ते आधिकारिक बिक्रेता बनाएर ल्यान्ड रोभरका कार ल्याइरहेको छ। साउथ चाइना एक्जिम लिमिटेडलाई जेएलआरले गाडी निर्यातका लागि कुनै अनुमति दिएको छैन।

काठमाडौं- काइरोस इन्टरनेसनल प्रालिले आफू ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)को आधिकारिक बिक्रेता रहेको दाबी गरेर कार आयात थालेको छ। तर काइरोस इन्टरनेसनलले ल्यान्ड रोभर कार उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीबाट आधिकारिक बिक्रेता नियुक्त नभएको पाइएको छ। 

आधिकारिक बिक्रेता नभइ नेपालमा सवारी आयात गर्न नपाइने कानूनी व्यवस्था रहेको छ। सोहीकारण नेपालमा उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीबाट मात्र आधिकारिक बिक्रेता नियुक्त भएर सोही कम्पनीबाट गाडी खरिद गरेर ल्याउनु पर्छ।

काइरोस इन्टरनेसनलले भने न त जेएलआर न त उसले तोकेको कम्पनीबाटै ल्यान्ड रोभरको कार खरिद गरेर ल्याउन लागेको छ। काइरोसले जेएलआरले चिन्दै नचिनेको कम्पनीबाट कार खरिद गरेको ल्याउने लागेको हो। 

जेएलआरले नेपालमा आफ्नो कुनै आधिकारिक बिक्रेता कम्पनी नरहेको बताएको छ। बिजनेस न्युजले जेएलआर एसिया प्यासिफिकलाई इमेलमार्फत नेपालमा आधिकारिक बिक्रेता भए नभएको जिज्ञासा राखेको थियो। उक्त जिज्ञासाको जवाफमा जेएलआरको एसिया प्यासिफिकले हालसम्म नेपालमा आफ्नो आधिकारिक बिक्रेता कम्पनी नभएको प्रष्ट पारेको छ। 

JLR mail.jpg
जेएलआर एसिया प्यासिफिकले पठाएको ई-मेल।

जेएलआरले इमालमा भनेको छ, ‘ज्यागुअर र ल्यान्ड रोभर सवारी, पार्ट्स र एसोसिरिज उत्पादक ज्यागुअर ल्यान्ड रोभर लिमिटेड नेपालमा आफ्नो आधिकारिक बिक्रेता नभएको पुष्टि गर्छ। कुनै पनि व्यवसायीले नेपालमा आधिकारिक आयात, वितरक र जेएलआरको उत्पादन बिक्री गर्छु भनिरहेको छ भने त्यो 'नन-अथोराइज्ड' हो।’ 

योसँगै काइरोस इन्टरनेसनलले नेपालमा ल्याउन लागेको ल्यान्ड रोभरका कार गैरकानूनी वा अवैध बाटोबाट ल्याउन लागेको पुष्टि भएको छ।

काइरोसले हङकङमा दर्ता भएको एक कम्पनीसँग आधिकारिक बिक्रेताको सम्झौता गरेर ल्यान्ड रोभर रेन्ज रोभरको कार ल्याउने प्रक्रिया थालिसकेको छ। काइरोस इन्टरनेसनलले साउथ चाइना एक्जिम लिमिटेडबाट ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टस कार ल्याउन लागेको छ। 

साउथ चाइना एक्जिम लिमिटेड नामक कम्पनी हङकङमा करिब ४ वर्षअघि राकेश अडुकियाकै नाममा दर्ता भएको थियो। अडुकियाले यस्तै अवैध काम गर्नका लागि उक्त कम्पनी दर्ता गराएका हुन्। योमात्र होइन अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेसनल(एयूडीआई) नामक कम्पनीसमेत बनाएका छन्। यो कम्पनीले पनि नेपाली कम्पनीसँग किर्ते आधिकारिक बिक्रेता बनाएर काम गरिरहेको छ। 

यसरी किर्ते आधिकारिक बिक्रेतामार्फत अवैध धन्दा गरिरहेको काइरोस इन्टरनेसनलले आयात गरेको ल्यान्ड रोभरका कार भन्सारले कुन आधारमा जाँचपास गर्न त्यो हेर्न बाँकी रहेको छ। त्योभन्दा महत्वपूर्ण विषय यस्तो किर्ते आधिकारिक बिक्रेतालाई वाणिज्य विभागले सामान्य चासोसमेत नराखी एजेन्सी दर्ता गर्नुले आर्थिक चलखेलको सम्भावनासमेत देखिएको छ। 

उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नदिएकाले काइरोस इन्टरनेसनलले साउथ चाइना एक्जिम लिमिटेडसँग किर्ते आधिकारिक बिक्रेता बनाएर ल्यान्ड रोभरका कार ल्याइरहेको छ। साउथ चाइना एक्जिम लिमिटेडलाई जेएलआरले गाडी निर्यातका लागि कुनै अनुमति दिएको छैन। 

सवारीसाधन आयात गर्नका लागि उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीसँग आधिकारिक बिक्रेता नियुक्त हुनुपर्ने कानूनी व्यवस्था छ। जसका लागि एउटामात्र होइन विभिन्न तहको प्रक्रिया पूरा गर्नुपर्छ। सोही आधारमा नेपालमा सवारीसाधन आयात हुँदै आएको छ। 

विगतको अनुभवबाट पाठ सिकेर सरकारले सवारी आयातका लागि कानूनी व्यवस्था बलियो बनाएको हो। सवारीसाधन खरिदका लागि विदेशी मुद्रा खर्चनु पर्ने भएकाले त्यसको दुरुपयोग नहोस्, अन्डर इनभोइस नहोस्, नागरिकले सवारीमा गरेको लगानी सुनिश्चित होस् र सवारी आयातकर्ताले बिक्रीपछिको सेवा र स्पेयरपाट्र्स पाउने अवस्थाको सुनिश्चितता होस् भनेर कसिलो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

सोहीअनुसार नेपालमा आयात हुने अधिकांश सवारीसाधन ब्रान्डहरू उत्पादकले तोकेको आधिकारिक बिक्रेतामार्फत नै आयात हुँदै आएका छन्। तर पछिल्लोपटक उत्पादक कम्पनीसँग कुनै साइनोरसम्बन्धै नभएको कम्पनीसँग नेपाली कम्पनीले आधिकारिक बिक्रेताको ‘किर्ते’ कागजात पेश गर्ने र नेपालमा एजेन्सी दर्ता गरेर अवैध कामलाई वैध बनाउने प्रयास भइरहेको छ। 

यस्तो कार्य मौलाउँदा अन्डर इनभोइस गरेर विदेशी मुद्रा अपचलन हुने, किर्ते गर्नेहरूमा हौसला बढ्ने, प्रयोग भइसकेको (सेकेन्ड ह्यान्ड) गाडी आउने सम्भावना बढी हुने, उपभोक्ताको लगानी जोखिममा पर्ने र पाउनु पर्ने सेवाबाट उपभोक्ता बञ्चित हुने सम्भावना अत्याधिक हुन्छ। 

काइरोस इन्टरनेसनलले खुलेआम विदेशी मुद्रा अपचलन गर्न लागेको प्रष्ट हुन्छ। जेएलआरले आधिकारिक बिक्रेता नदिएको भनेपछि राकेश अडुकियाकै योजना र रणनीतिमा हङकङमा कम्पनी बनाएर त्यहीमार्फत गाडी आयात हुँदा गैरकानूनी धन्दा मौलाइरहेको छ। आयातमा ‘रोग’को रुपमा जरो गाड्दै गरेको यो विषयलाई भन्सार, वाणिज्य विभाग, यातायात व्यवस्था विभाग, एलसी खोल्ने वाणिज्य बैंकहरू तथा राष्ट्र बैंकले चनाखो भएर काम गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ। 

काइरोस इन्टरनेसनल प्रालिले जेएलआरले उत्पादन गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोट्र्स मोडलको कार आयातका लागि अनुमति पाइसकेको छ। एलसी खोलेर भन्सार नाका आइपुग्ने क्रममा रहेको छ। त्यसैले सरकारी निकायहरूले समयमै उक्त गाडीको जाँचपास रोकेर अनुसन्धान अगाडि बनाउनु पर्ने भन्सारकै अधिकारीहरू बताउँछन्। 

काइरोस इन्टरनेसनलले किर्ते आधिकारिक बिक्रेता बनेर ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स एसयूभी २९ सय ९६ सीसी इन्जिनयुक्त विलासी कार ल्याउन लागेको छ। पेट्रोल हाइब्रिड प्रविधियुक्त यो कार निकै आकर्षक छ। 

जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार? जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार?

उत्पादकले आधिकारिक बिक्रेता नतोक्दै ल्यान्ड रोभरका कार कहाँबाट कसरी काइरोस इन्टरनेसनलले ल्याउन लाग्यो? उत्पादकले आधिकारिक बिक्रेता नतोक्दै ल्यान्ड रोभरका कार कहाँबाट कसरी काइरोस इन्टरनेसनलले ल्याउन लाग्यो?


प्रकाशित : बुधबार, माघ २ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend