बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईएमई इलेक्ट्रिक्सले ल्यायो स्वीच ब्रान्डको विद्युतीय पिकअप

सोमबार, पुस २९ २०८१
आईएमई इलेक्ट्रिक्सले ल्यायो स्वीच ब्रान्डको विद्युतीय पिकअप

आईईभी सिरिजका दुई भेरियन्ट आईईभी थ्री र आईईभी फोर दुवै नेपाल आएका छन्।

काठमाडौं- नेपाली बजारमा नयाँ ब्रान्डको विद्युतीय पिकअप भित्रिएको छ। आईएमई इलेक्ट्रिक्सले स्वीच ब्रान्डको विद्युतीय पिकअप बजारमा ल्याएको हो। 

भारतीय सवारी उत्पादक कम्पनी अशोक लेल्यान्डको सवब्रान्डका रुपमा रहेको स्वीच ब्रान्ड नेपाल आएको छ। नेपाली बजारमा अशोक लेल्यान्डलको आधिकारिक बिक्रेता आईएमई मोटर्स रहेको छ। 

स्वीच ब्रान्ड पनि आईएमई समूहअन्तर्गतकै कम्पनी आईएमई इलेक्ट्रिक्स प्रालिले ल्याएको हो। अशोक लेल्यान्डले विद्युतीय सवारी उत्पादन गर्नेगरी केही वर्षअघि स्वीच ब्रान्ड स्थापना गरेको थियो। उक्त ब्रान्डबाटै ठूला विद्युतीय बस तथा सहरी क्षेत्रमा सामान बोक्न प्रायेग हुने सिंगल क्याब पिकअपलगाय सवारी उत्पादन हुँदै आएको छ। 

२०२० सम्म अपटेरका नाममा रहेको कम्पनी त्यसपछि स्वीच मोबिलिलीका नाममा रिब्रान्डिङ भएर विद्युतीय सवारी उत्पादनमा लागेको हो। यो कम्पनीको पूर्ण स्वामित्व भारतीय सवारी उत्पादक कम्पनी अशोक लेल्यान्डसँग रहेको छ। अशोक लेल्यान्ड भारतको पूरानो मध्येको व्यवसायिक समूह हिन्दुजा समूहअन्तर्गतको कम्पनी हो। 

अशोक लेल्यान्डले डिजेल सवारी उत्पादन गर्दै आएको छ भने सो कम्पनीले विद्युतीय सवारी उत्पादनका लागि नयाँ ब्रान्ड स्वीचमार्फत अघि बढेको थियो। 

स्वीच मोबिलिटीअन्तर्गत पनि दुईवटा कम्पनी स्वीच मोबिलिटी अटोमोबाइल लिमिटेड र ओएचएम ग्लोबल मोबिलिटी प्रालि रहेका छन्। यो ब्रान्डअन्तर्गत विद्युतीय कमर्सियल सवारी उत्पादन हुँदै आएको छ। 

आईएमई इलेक्ट्रिकले नेपाल ल्याएका स्वीचका विद्युतीय पिकअप अशोक लेल्यान्डको दोस्त पिकअपकै विद्युतीय भर्सन हो। यो विद्युतीय गाडीलाई कम्पनीले आईईभी सिरिजका रुपमा ब्रान्डिङ गरेको छ। आईईभी सिरिजका दुई भेरियन्ट आईईभी थ्री र आईईभी फोर दुवै नेपाल आएका छन्। 

आईईभी फोरको पेलोड क्षमता १.७ टन रहेको छ भने यो गाडीमा ३२.२ किलोवाट आवरको एडभान्स्ड लिथियम आयन ब्याट्री रहेको छ। ६० किलोवाट मोटर पावर रहेको यो गाडीले २ सय ३० एनएम टर्क जेनेरेट गर्छ। यो गाडीले एक पटकको फुल चार्जमा १ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

त्यस्तै आईईभी थ्रीको पेलोड क्षमता १.२५ टन रहेको छ। यो विद्युतीय गाडीमा २५.६ किलोवाट आवरको एडभान्स्ड लिथियम आयन ब्याट्रीमा उपलब्ध छ। ४० किलोवाट मोटर पावर रहेको यो गाडीले १ सय ९० एनएम टर्क जेनेरेट गर्छ भने यसले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

आईएमई इलेक्ट्रिक्सले परीक्षणका लागि आईईभी ४.१ र आईईभी ३.१ एक एक वटा आयात गरेको छ। परीक्षण गरेपछि आईएमई इलेक्ट्रिकले बिक्रीका लागि आईईभी सिरिजका विद्युतीय गाडी आयात गर्नेछ। पछिल्लो समय नेपाली बजारमा चिनियाँ पिकअपको आयात बढ्दै गइरहेको छ। भारतबाट टाटा मोटर्सले गत वर्ष नै एसको विद्युतीय भर्सन नेपाली बजारमा आयात गरेर बिक्री गरिरहेको छ। भारतबाट अब अर्को ब्रान्डको पनि विद्युतीय पिकअप आएको छ। 

चिनियाँ विद्युतीय पिकअप आयात गर्नेहरुले राम्रो सर्भिस र समयमा स्पेयर पार्टस उपलब्ध गराउन सकेका छैनन्। यो समस्या आगामी दिनमा अझै बढ्दै जानेछ। 


प्रकाशित : सोमबार, पुस २९ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend