बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी, बैंक तथा वित्तीय संस्थाले २६ अर्ब ऋण दिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २३ २०८१
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी, बैंक तथा वित्तीय संस्थाले २६ अर्ब ऋण दिने

लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ।

काठमाडौं- विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्ने क्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब रुपैयाँ बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। 

केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो।

दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९६ करोड लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्षसमेत रहनुभएमा प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिए।

यस आयोजनामा ७४ करोड बराबरको सेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने एक अर्ब ७४ करोड बराबरको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन्। 

साथै लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ। अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। 

प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले सात अर्ब, ग्लोबल आइएमइ बैंकले छ अर्ब र प्रभु बैंकले तीन अर्ब बराबरको लगानी गर्ने भएका हुन्। सो आयोजनाको कुल लागत २१ अर्ब ४० करोड बराबर रहनेछ। कुल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन्।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ। आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ।

इपानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ। उनले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए। रासस 


प्रकाशित : मंगलबार, पुस २३ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend