बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सहरको पैसा गाउँ भित्र्याउँदै दुग्ध उत्पादक किसान, परम्परागत पशुपालनबाटै राम्रो आम्दानी

सोमबार, पुस २२ २०८१

विभिन्न समूहमा आवद्ध भइ सहकारीमा लागेका दुग्ध उत्पादक महिला किसानहरू वार्षिकरुपमा झण्डै ४ करोड ८० लाख रुपैयाँको कारोबार गरिरहेको बताउँछन्।

पर्सा- कमाइ हुने थलोको परिचय बनाएको सहरबाटै कमाइ गरेर गाउँ भित्र्याइरहेका किसानको कथा सुखद छ। सहरमा काम र दामको अभाव हुँदैन भनेर गाउँबाट सहर पस्नेहरू र सहरबाट विदेश लाग्नेहरू बाक्लिरहेको समयमा बारा-पर्साका महिला किसान गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन्। 

तराई मधेशको बारा-पर्साका महिला गाउँमै बस्छन्। पैसा कमाउनकै लागि उनीहरू गाउँ बाहिर जाँदैनन्। घरको सबै काम भ्याएर पनि राम्रो आम्दानी गर्न सफल भइरहेका छन्। त्यो सम्भव भएको छ, परम्परागत पशुपालनबाटै।

पहिले पनि गाउँमा पशुपालन भइरहेको हो तर त्यसलाई व्यावसायिक बनाएर आम्दानी कसरी गर्ने भन्ने ज्ञान उनीहरूमा थिएन। पहिले उनीहरू छरिएर आ-आफ्नो काममा लागेका थिए। अहिले भने उनीहरूले समूहमा एकजुट भएर आम्दानीको माध्यम पत्ता लगाएका छन्। दुग्ध व्यवसायबाट सहरको पैसा गाउँ भित्र्याइरहेका छन्। 

भिन्नरुपमा आफ्नो काममा व्यस्त भइरहेका महिलालाई जितपुरसिमरा उपमहानगरपालिका-१८ बडहर्वास्थित 'साना किसान कृषि सहकारी संस्था'ले समूह-समूहमा एकजुट बनाएर कमाउने माध्यम दिइरहेको छ। मझौलिया, विद्यानगर, श्रीपुर, दोहरी, बकुलहर, पकडी, अमवाटोला, सिसवा महेशपुर, कवलपुरलगायत गाउँका किसानहरू केन्द्रसँग आवद्ध भइ दूध बेचेरै राम्रो आम्दानी गर्न थालेका छन्। 

त्यसरी समूहमा बाँधिएका महिलाहरूको गोलिया छ। उनीहरू गोलियाकै सहमतिमा ऋण कारोबार गर्छन्। पहिले घरका पुरुष सदस्यलाई विदेश पठाउनमात्र ऋण लिने गरेका उनीहरू हिजोआज ऋणलाई उत्पादनमुखी काममा लगाउने गरेका छन्। परम्परागत रुपमा गाउँघरमा उत्पादन गरिरहेको दूधलाई सहकारीले व्यावसायीकरण गरिदिएपछि उनीहरू अहिले व्यवसायी बनेका छन्। 

milk kisan parsa (2).jpg

त्यसरी विभिन्न समूहमा आवद्ध भइ सहकारीमा लागेका दुग्ध उत्पादक महिला किसानहरू वार्षिकरुपमा झण्डै ४ करोड ८० लाख रुपैयाँको कारोबार गरिरहेको बताउँछन्। साना किसान कृषि सहकारीमार्फत साना किसान दुग्ध संकलन केन्द्र मझौलियामार्फत उनीहरूले सहरको पैसा गाउँ भित्र्याइरहेका छन्। 

साना किसान सहकारीमा ३ हजार ५ सय किसान आवद्ध भए पनि त्यसमध्ये ४ सय २५ साना किसान परिवारले मात्र दूधको कारोबार गरिरहेको साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक पुष्पराज खतिवडा बताउँछन्। परम्परागतरुपमा गाईभैँसी पालेर ती महिलाले घर-घरको दूध डेरीसम्म पुर्‍याउँदा दैनिक १  हजार ८ सय लिटर दूध सं‌कलन हुने गरेको उनले बताए। 

‘दैनिक रुपमा संकलन गरिएको दूध महिनामा ५३ हजार लिटर पुग्ने गर्दछ। यसलाई सहरमा प्याकेटिङ गरेर बिक्री गरिन्छ’ उनले भने, ‘किसानबाट संकलित दूध सहरमा बिक्री गर्दा मासिक ४० लाख रुपैयाँ संकलन हुन्छ। यसलाई डेरीमार्फत नै दुग्ध उत्पादक किसानमा भुक्तानी गर्दै आएका छौँ।’

महिला किसानलाई सहजीकरण गर्दा घरमै बसीबसी उनीहरूले दूध बेच्न पाएका छन्। गाउँबाट दूध व्यापारीसम्म पुर्‍याउँदा सहकारीले प्रतिलिटर १५ पैसाको दरले आम्दानी गर्न पाएको उनले सुनाए।

दुईवटा दुग्ध संकलन केन्द्र सञ्चालन गरी किसानबाट संकलित दूध कलैया डेरी र डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थालाई बिक्री गर्ने गरिएको छ। जहाँबाट दूधलाई प्याकेटिङ गरी वीरगञ्ज, कलैया, सिमरा, हेटौँडालगायतका सहरमा बिक्री गरिँदै आएको छ।

milk kisan parsa (3).jpg

एसियाली विकास बैंकको सहयोगमा साना किसान सहकारीले प्रदान गर्दै आएको ‘सहुलियत ऋण’ लिएर कतिपय किसानले व्यावसायिकरुपमै पशुपालन गरेका छन्। उनीहरूले व्यवस्थित गोठ निर्माण गरी पशुपालन गरेको साना किसान दुग्ध संकलन केन्द्र मझौलियाका कर्मचारी मनोज पटेलले जानकारी दिए। 

यसरी गाउँका महिला किसानले गाउँमै परिश्रम गरेर सहरको नगद आम्दानी गरिरहेका छन्। यसले परिवारको जीवनशैली नै फेरिन थालेको उनीहरू सुनाउँछन्।

दूध बचेरै कलैया उपमहानगरपालिका-१६ की पशुपालक किसान रेश्मीदेवी रामले राम्रो आम्दानी गरिरहेकी छिन्। पति सुरेश रामले काम नपाउँदा परिवार चलाउन नै मुश्किल परिरहेको उनलाई दूध उत्पादनले निकै सहज बनाइदिएको छ। दूध उत्पादन गर्न थालेपछि आम्दानीले निरन्तरता पाउँदै आएको र त्यसबाटै आर्थिक संकट टरेको रेश्मीले बताइन्।

‘अहिले बच्चा पढाउन तथा चाडवाडको खर्च जुटाउन सहज भएको छ,’ उनले भनिन्, ‘दूध डेरीले किनlदिएपछि सुविधा भएको छ। ५/१० मिनेटमै दूध संकलन केन्द्रमा पुर्‍याइदिन्छौँ। बचेको समयलाई अन्य काम गर्दा दोहोरो फाइदा हुन थालेको छ' उनले खुसी हुँदै सुनाइन्।

भिडियोमा हेर्नुहोस् - 


प्रकाशित : सोमबार, पुस २२ २०८१०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend