बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चैतसम्म खाँदबारी-किमाथांका सडकको ट्रयाक खुल्ने, बीआरआई परियोजनाबारे अन्योल

आइतबार, पुस २१ २०८१
चैतसम्म खाँदबारी-किमाथांका सडकको ट्रयाक खुल्ने, बीआरआई परियोजनाबारे अन्योल

नेपाली सेनाले किमाथांकासम्म पुग्ने ट्रयाक खोल्ने जिम्मा पाएको छ। ट्रयाक खोल्ने अन्तिम तयारीमा रहेको सेनाले च्याम्ताङदेखि घोङ्घप्पा खण्डमा काम गरिरहेको छ। साढे १० किमीमध्ये ५ सय मिटर क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ।

इटहरी- भारत, नेपाल र चीनको त्रिदेशीय व्यापारिक मार्गको रूपमा परिचित छ उत्तर-दक्षिण (कोशी) कोरिडोरको जोगवनी-किमाथांका सडक। जोगवनीदेखि किमाथांकासम्मको ३९० किलोमिटर सडक सञ्जालमध्ये ५ सय मिटर ट्रयाक खोल्न बाँकी छ। बाँकी खाँदबारी-किमाथांका खण्डकको १६२ किलोमिटरमध्ये १३४ किलोमिटरमा काम भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण (मङ्सिर १७-२२) मा सो सडकलाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा समेटिएको छ। जसले गर्दा खाँदबारी-किमाथांका सडकको चर्चा बढेको छ।

बीआरआईमा खाँदबारी किमाथांका सडक, दमक औद्योगिक क्षेत्रसहित विभिन्न परियोजनामा लगानी गर्ने सम्झौता भएको छ।

खाँदबारीको लुमिङ हिललाई जिरो प्वाइन्ट मानेर निर्माण कार्य सुरु भएको छ। लुमिङ हिलदेखि थामसेर्कुसम्म (१४ किमी) पहिलो, थामसेर्कुदेखि कप्ताने (१४-२६ किमी) दोस्रो, कप्तानेदेखि नुमसम्म (२६-३९ किमी) तेस्रो र नुमदेखि दोभान (३९-४९) किमी चौथो चरणमा विभाजन गरिएको छ। ४९ किमीमध्ये ३९ किमीमा शर्मा एन्ड कम्पनी-शिवशक्ति जेभीले एक अर्ब २७ करोड ८८ लाख रूपैयाँमा कालोपत्रे गर्ने जिम्मा पाएको छ।

बाँकी १० (नुम-दोभान) किलोमिटरको लागि सिंह एन्ड ब्रदर्स-ड्रागन-विवश इन्टरनेसनल जेभीले ५५ करोड २० लाख ८६ हजार रूपैयाँमा ठेक्का लिएको छ।

निर्माण कम्पनीले जम्मा ५० प्रतिशतमात्र भौतिक प्रगति गरेको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिएका छन्। समयमै काम नगरेको भन्दै कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए। निर्माण व्यवसायी लामो समयदेखि सम्पर्कविहीन भएकाले सो प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ। 

koshi sadak.jpg

उता दोभानदेखि च्याम्ताङसम्मको ८३ किलोमिटरमा भने दुईवटा ठेक्का लागेको छ। ग्राभेलको लागि वरुणदेखि च्याम्ताङसम्म २८ किमी र २१ किमीका दुईवटा ठेक्का लागेका हुन्।

बाँकी क्षेत्रमा प्राविधिक समस्या भएको कारण काम रोकिएको छ। त्यही बीचमा ४ वटा पुलको लागि भर्ने माटो परिक्षण भइरहेको आयोजना कार्यालयले जनाएको छ।

नेपाली सेनाले किमाथांकासम्म पुग्ने ट्रयाक खोल्ने जिम्मा पाएको छ। ट्रयाक खोल्ने अन्तिम तयारीमा रहेको सेनाले च्याम्ताङदेखि घोङ्घप्पा खण्डमा काम गरिरहेको छ। साढे १० किमीमध्ये ५ सय मिटर क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ। चैत्र मसान्तसम्ममा दुई लेनको ट्रयाक खोलिसक्ने सेनाले जानकारी दिएको प्रमुख गुरुङले बिजनेस न्युजलाई बताए।

koshi sadak2.jpg

यसअघि चीनको नाकामा रहेको किमाथांका देखि घोङ्घप्पा सम्मको (१७ किमी) क्षेत्रमा ट्रयाक खुलिसकेको छ। जुन क्षेत्र बीआरआई परियोजनाको फ्रेमवर्कभित्र परेको बताइएको छ।

प्रमुख गुरुङका अनुसार चीन र नेपाल जोड्ने मितेरी पुलसहित सडक स्तरोन्नति गर्नेगरी बीआरआईमा समेटिएको छ। त्यस परियोजनाको काम कहिले र कसरी सुरु हुन्छ भन्नेबारे यकिन नभएको उनले जानकारी दिए। 

koshi sadak aayojana.jpg

१६ अर्ब लागत अनुमान गरिएको आयोजनामा साढे ५ अर्ब ५८ करोड खर्च भइसकेको छ। आर्थिक वर्ष २०८३/८४ भित्र सक्ने गरी तयारीमा रहेको आयोजनाको लागि केही ढिला हुनसक्ने बताइएको छ। ट्रयाक खोल्ने काम सम्पन्न भएपछि कामको रफ्तार बढ्ने प्रमुख गुरुङको बुझाइ छ।

योजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) अनुसार २३ वटा पुल निर्माण गर्नुपर्ने भएका छन्। त्यसमध्ये मङ्सिर मसान्तसम्म १० वटा पुलहरू निर्माण सम्पन्न भइसकेका छन्। गत असारमा आएको भीषण बाढीको कारण प्रभावित आयोजनाको काम भौगोलिक विकटताको कारण समस्यामा पर्दै गरेको छ।


प्रकाशित : आइतबार, पुस २१ २०८१०७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend