बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईसीईमा सफल एसयूभी क्रेटा ईभीमा तयार : प्रारम्भिक रुझानले 'मासमार्केट लिडर' बन्ने संकेत

जवनरी १७ मा भारतमा सार्वजनिक भएलगत्तै नेपाल आउने

शनिबार, पुस २० २०८१
आईसीईमा सफल एसयूभी क्रेटा ईभीमा तयार : प्रारम्भिक रुझानले 'मासमार्केट लिडर' बन्ने संकेत

कम्पनीले सार्वजनिक गरेको भिडियोअनुसार क्रेटा ईभीको रेन्ज ४ सय ७३ किलोमिटर हुने दाबी गरिएको छ। यो रेन्ज एआरएआई सर्टिफाइड हो।

काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर कर्पोरेसनले उत्पादन गरेको मिडसाइज एसयूभी भारतसहित नेपाली बजारमा पनि निकै सफल भयो। आकर्षक डिजाइन र प्रविधियुक्त क्रेटाले धेरैलाई लोभ्याएको थियो र लोभ्याइरहेको छ। 

भारतमा सार्वजनिक भएको केही समयपछि नेपाल आएको हुन्डाई क्रेटा धेरैको रोजाइमा परेको एसयूभी हो। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अब क्रेटाको विद्युतीय भर्सन ल्याउने तयारी थालेको छ। हुन्डाईले क्रेटा ईभी यही जनवरी १७ मा भारत मोबिलिटी ग्लोबल एक्सपोमा सार्वजनिक गर्दै छ। 

हुन्डाई मोटर इन्डियाले बिक्रीका लागि उपलब्ध गराउनेगरी नै क्रेटा ईभी सार्वजनिक गर्ने बताइसकेकाले सोही अनुसार क्रेटा ईभी भारतमा सार्वजनिक भएलगत्तै नेपाल ल्याउने प्रक्रिया सुरु हुनेछ। आगामी फेब्रुअरी भित्रै क्रेटा ईभी नेपाली बजारमा ल्याउने तयारीमा लक्ष्मी इन्टरकन्टिनेन्टल लागिपरेको छ। 

हुन्डाईको कोना ईभी नेपाली बजारमा २०१९ मै आएको थियो भने त्यसको केही वर्षपछि आयोनिक फाइभ ईभी ल्याएको थियो। त्यसअघि आयोनिक ईभी पनि नेपाल भित्रिएको थियो। कर वृद्धिलगायत कारण र प्रिमियम उन्मुख भएकाले कोना र आयोनिक फाइभ मास मार्केटमा जान सकेन। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल ल्याएका हुन्डाईका यी ईभी कोरियामा उत्पादन भएका थिए। तर अब आउने क्रेटा ईभी भने मासमार्केट ईभी हुनेछ। 

नेपालमा विद्युतीय सवारीको स्वीकार्यता उल्लेख्य रहेको छ। टाटा मोटर्सका बाहेक अहिले नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीको दबदबा रहेको छ। आगामी दिनमा भने भारतमा उत्पादन भएका विद्युतीय कार नेपाल आउनेक्रम बढ्ने देखिएको छ।

टाटाको नयाँ विद्युतीय सवारी आउनेक्रममा छ भने हुन्डाईको क्रेटा ईभी फेब्रुअरीमा र त्यही वरिपरि महिन्द्राको ईभी पनि आउने सम्भावना छ। सवारी उत्पादकहरुले भारतमा विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिएकाले आगामी दिनमा नयाँ नयाँ मोडलहरु थपिँदै जानेछ।

hyundai Creta ev.jpg

हुन्डाईको क्रेटा धेरैको रोजाइमा परेकाले यसको ईभी भर्सनले पनि स्वभाविक रुपमा उपभोक्तालाई आकर्षित गर्नेछ। परिस्क्रित डिजाइन, अत्याधुनिक विशेषताले भरिएको क्रेटा ईभीले ‘मास मार्केट उपभोक्ता’ कति आकर्षित गर्न सक्छ? त्यसका लागि भने केही समय कुर्नुपर्नेछ। 

हुन्डाई मोटर इन्डियाले बिहीबार क्रेटा ईभीको टिजर भिडियो सार्वजनिक गरेको हो। यसअघि ४५ किलोवाट आवारको ब्याट्री हुने अनुमानहरु आएकोमा क्रेटा ईभीमा ५१.४ किलोवाट आवरको ब्याट्री हुने देखाइएको छ। क्रेटा ईभी दुई ब्याट्री अप्सनमा आउनेछ। 

कम्पनीले सार्वजनिक गरेको भिडियोअनुसार क्रेटा ईभीको रेन्ज ४ सय ७३ किलोमिटर हुने दाबी गरिएको छ। यो रेन्ज एआरएआई सर्टिफाइड हो। क्रेटा ईभीमा कोना ईभीमै प्रयोग भएको १ सय किलोवाटको मोटर रहनेछ। क्रेटा ईभीले ७.९ सेकेन्डमा शून्यबाट १ सय किलोमिटरको गति तय गर्नेछ। 

क्रेटा ईभीमा गियर सेलेक्टर पनि स्टेरिङ ह्वीलबाट गर्न सकिने सुविधा दिएको छ। भ्वाइस एक्टिभेटेड प्यानारोमिक सनरुफ, फ्रन्टमा दिइएको चार्जिङ पोर्ट र आयोनिक फाइभमा जस्तै अगाडि एक्टिभ एयर फ्ल्याप दिएको हो। क्रेटा ईभीमा भीटुएल सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। 

क्रेटा ईभीको क्याविनमा विभिन्न लग्जरी विशेषताहरु छन्। यसमा १०.२५ इन्चको ड्यूल स्कृन, बोसको प्रिमियम साउन्ड सिस्टम, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, लेभल २ एडास सिस्टम, ६ वटा एयरव्याग, ३६० डिग्री क्यामरा, डिजिटल कीलगायत विशेषता हुनेछ। क्रेटा ईभी कटिङ-एज ईभी टेक्नोलोजी र प्राक्टिक्यालिटीमा आधारित रहेको हुन्डाईले जनाएको छ। 

४२ किलोवाट आवरको ब्याट्री भएको क्रेटा ईभीले एक पटकको फुल चार्जमा ३ सय ९० किलोमिटर रेन्ज दिनेछ। क्रेटा ईभीमा भएको ब्याट्री १० देखि ८० प्रतिशत चार्ज हुन जम्मा ५८ मिनेटमात्र लाग्नेछ। त्यस्तै यो ईभी ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ सय ६० हजार किलोमिटर वारेन्टी दिनेछ। 

भारतमा हुन्डाई क्रेटा ईभीले एमजी वीन्डसर ईभी, एमजी जेडएस ईभी, टाटा कर्भ ईभी तथा बिक्रीका लागि आउने तयारीमा रहेको सुजुकीको ई भिटारा र महिन्द्रा बीई सिक्ससँग प्रत्यक्ष प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यता नेपाली बजारमा मागि उल्लेखित ईभीसहित अन्य चिनियाँ ईभीसँग पनि क्रेटा ईभीले प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्नेछ। 


प्रकाशित : शनिबार, पुस २० २०८११४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend