बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निम्बस समूहले ‍रियलस्टेटमा हात हाल्यो, ललितपुर र वीरगञ्जमा एकसाथ आवास विकास गर्दै

आइतबार, पुस १४ २०८१
निम्बस समूहले ‍रियलस्टेटमा हात हाल्यो, ललितपुर र वीरगञ्जमा एकसाथ आवास विकास गर्दै

निम्बसले ललितपुरमा अपार्टमेन्ट बनाउने भएको छ। उच्च मूल्य श्रृंखलामा पर्नेगरी अपार्टमेन्टको विकास गर्ने तयारी समूहले गरेको छ। त्यस्तै वीरगञ्जमा भने अपार्टमेन्टसँगै हाउजिङ कोलनी विकास गर्ने भएको छ।

काठमाडौं- चरम आर्थिक शिथिलताले गर्दा अधिकांश उद्योगी व्यवसायीले लगानीका नयाँ परियोजना थाती राखिरहेको समयमा देशको प्रमुख व्यापारिक समूह निम्बसले नयाँ क्षेत्रमा हात हाल्दै नयाँ परियोजना अघि बढाउन लागेको छ। 

दाना तथा कृषिजन्य उत्पादन, खाद्यान्नदेखि इकमर्शसम्म हात हालेको निम्बस समूहले आफ्नो व्यावसायिक इतिहासमा पहिलोपटक रियलस्टेटमा हात हालेको छ। निम्बसले काठमाडौं उपत्यकाका साथै काठमाडौंबाहिर एकसाथ रियलस्टेट परियोजना अघि बढाउने भएको हो। 

ललितपुरको खुमलटार/हात्मिवन क्षेत्रमा र वीरगञ्जमा नयाँ रियलस्टेट परियोजना अघि बढाउनका लागि निम्बस समूहले काम अघि बढाएको छ। घर जग्गाको क्षेत्रमा चरम शिथिलता आएको र सस्तो ब्याजदरको ऋण पाइरहेको समयमा निम्बसले परियोजना अघि बढाउन लागेको हो। 

निम्बसले ललितपुरमा अपार्टमेन्ट बनाउने भएको छ। उच्च मूल्य श्रृंखलामा पर्नेगरी अपार्टमेन्टको विकास गर्ने तयारी समूहले गरेको छ। त्यस्तै वीरगञ्जमा भने अपार्टमेन्टसँगै हाउजिङ कोलनी विकास गर्ने भएको छ। 

दुई ठाउँकै परियोजना लाइफस्टाइल अवधारणामा आधारित भएर निर्माण हुनेछ। नेपाली समाजमा परिवारको आकारसँगै शैलीमा पनि परिवर्तन आएकाले रियलस्टेटमा पनि नयाँ तथा आधुनिक अवधारणा ल्याउनुपर्ने र यसमा बजारको विकास हुँदै जाने निष्कर्षसहित निम्बसले यो परियोजना अघि बढाएको हो।

अहिले सानो परिवार तथा सबै सुविधा सहज उपलब्ध हुने आवास क्षेत्रको माग बढ्दै गएकाले यही माग पूरा गर्नेगरी रियलस्टेट बजारको विकास माग बढ्दै गएको निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगरिया बताउँछन्। 

ठूलो पर्खालसहितको घर बनाएर बस्न ठूलो परिवार हुँदा सहज भएपनि अहिले परिवार सानो हुँदा युटिलिटी तथा सुरक्षाको हिसाबले कठिन हुँदै गएको छ। सहयोगी राखेर पनि सुविधा लिन सक हुने भएपछि धेरैले कोलोनी तथा सामूहिक र संगठित आवास क्षेत्रलाई रोजाइमा पार्न थालेका छन्। ‘यो कारणले गर्दा यसमा नयाँ बजारको विकास भएको छ। यही कुरालाई ध्यानमा राखेर हामीले नयाँ परियोजा विकास अघि बढाउन थालेका छौँ’, उनी भन्छन्। 

पछिल्लो समय जग्गाको मूल्य पनि बढेको छैन। उस्तै परे अझ सस्तो भएको छ। सस्तो जग्गामात्र नभएर ऋण पनि सुलभ ब्याजरमा सहजै पाइने भएकाले रियलस्टेटमा लगानी गर्न उपयुक्त हुने विश्लेषणसहित रियलस्टेटमा हात हालेको हो। 

बर्सेनि अर्बौँको व्यापार, हजारौँलाई रोजगारी दिएको निम्बसको रियलस्टेटमा यो पहिलो परियोजना हो।


प्रकाशित : आइतबार, पुस १४ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend