बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्वभर ९ करोड ३५ लाख सवारी उत्पादन हुँदा कुन देशमा कति बने?

२०२३ मा धेरै सवारी उत्पादन गर्ने ३० देश

सोमबार, पुस १५ २०८१
विश्वभर ९ करोड ३५ लाख सवारी उत्पादन हुँदा कुन देशमा कति बने?

यो संख्यामा प्यासेन्जर कार तथा कमर्सियल सवारी समावेश रहेको छ। यो संख्या कोरोना महामारीपूर्व अर्थात २०१९ को तुलनामा २ प्रतिशत र २०२२ को तुलनामा १७ प्रतिशत धेरै हो।

काठमाडौं- कोरोना महामारीपछि विश्वभर सवारीसाधनको उत्पादन तथा बिक्री उल्लेख्य रुपमा घटेको थियो। २०२३ मा आइपुग्दा भने सवारीसाधनको उत्पादन र बिक्री कोरोना महामारीअघिकै अवस्थामा पुगेको तथ्यांकले देखाएको छ। बढ्दो सवारी बिक्रीलाई कोरोनाले राम्रै धक्का दिएको थियो। 

२०२३ मा विश्वभर ९ करोड ३५ लाख वटा सवारीसाधन उत्पादन भएको छ। यो संख्यामा प्यासेन्जर कार तथा कमर्सियल सवारी समावेश रहेको छ। यो संख्या कोरोना महामारीपूर्व अर्थात २०१९ को तुलनामा २ प्रतिशत र २०२२ को तुलनामा १७ प्रतिशत धेरै हो।

इन्टरनेसनल अर्गनाइजेसन अफ मोटर भेहिकल क्यानुफ्याक्चरर्सले सार्वजनिक गरेको तथ्यांकअनुसार भिजुअल क्यापिटालिस्टले सवारी उत्पादन गर्ने ३० ठूला देशको सूची तयार पारेको हो। २०२३ मा संसारभर ९ करोड ३५ लाख प्यासेन्जर कार र कमर्सियल सवारी उत्पादन हुँदा चीनमा सबैभन्दा धेरै बनेको थियो। 

विश्व कार उत्पादनमा चीनको दबदबा देखिएको छ। २०२३ मा विश्वभर उत्पादन भएको कार मध्ये करिब एक तिहाइ चीनमै बनेको थियो। पछिल्लो समय चीन सबैभन्दा धेरै कार उत्पादन गर्ने र निर्यात गर्ने देश बनेको छ। यो २०२४ को अन्तिमको तथ्यांकले देखाएको हो। 

अहिले चीनले जति कार उत्पादन गरिरहेको छ, आन्तरिक माग र निर्यात बढेको खण्डमा उसँग त्यसको तब्बर कार उत्पादन क्षमता रहेको छ। त्यसैले चीन सवारीसाधन निर्याततर्फ केन्द्रित भइरहेको र सवारी उत्पादकहरुलाई त्यहीअनुसार सहुलियित दिइरहेको छ। 

चीन निर्यातमा मात्र होइन आन्तरिक उत्पादनमा पनि उत्तिकै ध्यान केन्द्रित गरिरहेको छ। आन्तरिक बजारमा विदेशी कार उत्पादकको दबदबालाई चीन अन्त्य गर्न चाहन्छ। सोहीकारण चीन सरकारले आन्तरिक अटोमोटिभ उत्पादनलाई बढावा दिन ठूलो लगानी गरिरहेको छ। त्यसमा पनि विद्युतीय सवारी उत्पादनलाई बढी प्राथमिकता दिइरहेको छ। 

चीन सरकारले ‘मेड इन चाइना २०२५’ रणनीतिलाई सार्थक बनाउन विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिइरहेको छ। विद्युतीय कार उत्पादन र बिक्रीमार्फत विश्व बजार आफ्नो उपस्थिति बलियो बनाउने दाउमा चीन छ। 

२०२३ मा धेरै सवारी उत्पादन गर्ने ३० देश 

१. चीन- चीनमा गत वर्ष ३ करोड १ लाख ६० हजार ९ सय ६६ वटा सवारीसाधन उत्पादन भएको थियो। विश्व सवारी उत्पादनमा २०२३ मा चीनको हिस्सा ३२.२ प्रतिशत रहेको छ। 

२. अमेरिका- २०२३ मा अमेरिकामा १ करोड ६ लाख ११ हजार ५ सय ५५ कार उत्पादन हुँदा विश्व सवारीसाधन उत्पादनमा उसको हिस्सा ११.३ प्रतिशत रहेको छ। 

३. जापान- गत वर्ष जापानमा ८९ लाख ९७ हजार ४ सय ४० वटा सवारीसाधन उत्पादन भएका थिए। २०२३ मा विश्व सवारी उत्पादनमा जापानको हिस्सा ९.६ प्रतिशत रहेको थियो। 

४. भारत- भारतमा २०२३ मा ५८ लाख ५१ हजार ५ सय ७ वटा सवारीसाधन उत्पादन भएको र विश्व सवारी उत्पादनमा सो वर्ष उसको हिस्सा ६.३ प्रतिशत रहेको थियो। 

५. दक्षिण कोरिया- गत वर्ष दक्षिण कोरियामा ४२ लाख ४३ हजार ५ सय ९७ वटा सवारीसाधन उत्पादन भएको थियो। सो वर्ष विश्वको कुल सवारी उत्पादनमा कोरियाको हिस्सा ४.५ प्रतिशत रहेको हो। 

६. जर्मनी- विलासी कार उत्पादकको घर मानिएको जर्मनीमा २०२३ मा ४१ लख ९ हजार ३ सय ७१ वटा सवारीसाधन उत्पादन भएको थियो। गत वर्ष विश्व सवारीसाधन उत्पादनमा जर्मनीको हिस्सा ४.४ प्रतिशत थियो। 

७. मेक्सिको- गत वर्ष मेक्सिकोमा ४० लाख २ हजार ४७ वटा सवारीसाधन उत्पादन भएको थियो। यो कुल विश्य सवारीसाधन उत्पादनमा ४.३ प्रतिशत हिस्सा हो। 

८. स्पेन- २०२३ मा स्पेनमा २४ लाख ५१ हजार २ सय २१ वटा सवारीसाधन उत्पादन भएका थिए। गत वर्ष विश्वको कुल सवारीसाधन उत्पादनमा स्पेनको हिस्सा २.६ प्रतिशत रहेको थियो। 

९. ब्राजिल- गत वर्ष ब्राजिलमा २३ लाख २४ हजार ३ सय ३८ वटा सवारीसाधन उत्पादन भएको तथ्यांक छ। २०२३ मा विश्व सवारीसाधन उत्पादनमा ब्राजिलको हिस्सा २.५ प्रतिशत रहेको छ। 

१०. थाइल्यान्ड- २०२३ मा थाइल्यान्डमा १८ लाख ४१ हजार ६ सय ६३ वटा सवारीसाधन उत्पादन भएका थिए। सो वर्ष विश्वको कुल सवारीसाधन उत्पादनमा थाइल्यान्डको हिस्सा २ प्रतिशत थियो। 

त्यस्तै क्यानडामा १५ लाख ५३ हजार २६ वटा, फ्रान्समा १५ लाख ५ हजार७६ वटा, टर्कीमा १४ लाख ६८ हजार ३ सय ९३ वटा, चेक रिपब्लिकमा १४ लाख ४ हजार ५ सय १ वटा र इन्डोनेसियामा १३ लाख ९५ हजार ७ सय १७ वटा सवारीसाधन उत्पादन भएको थियो। 

स्लोभाकियाले गत वर्ष १० लाख ८० हजार वटा सवारीसाधन उत्पादन गर्दा बेलायतले १० लाख २५ हजार ४ सय ७४ वटा, इटालीले ८ लाख ८० हार ८५ वटा, मलेसियाले ७ लाख ७४ हजार ६ सय वटा, रुसले ७ लाख २९ हजार ८  सय ६४ वटा, दक्षिण अफ्रिकाले ६ लाख ३३ हजार ३ सय ३७ वटा, पोल्यान्डले ६ लाख १२ हजार ८ सय ८२ वटा र अर्जेन्टिनाले ६ लाख १० हजार ७ सय २५ वटा सवारीसाधन बनाएका थिए। 

यसैगरी मोरक्कोमा ५ लाख ३५ हजार ८ सय २५, रोमानियामा ५ लाख १३ हजार ५०, हंगेरीमा ५ लाख ७ हजार २ सय २५ वटाm उज्वेकस्तिानमा ४ लाख २५ हजार ८ सय ७६ वटा, बेल्जियममा ३ लाख ३२ हजार १ सय ६ वटा र पोर्चुगलमा ३ लाख १८ हजार २ सय ३१ वटा सवारी साधन गत वर्ष उत्पादन भएको थियो। 

यी ३० देशबाहेक विश्वभरका बाँकी देशमा २६ लाख ४६ हजार ४ सय ४ वटा सवारीसाधन २०२३ मा उत्पादन भएको तथ्यांक छ।  

सबैभन्दा उत्कृष्ट

चीनपछि धेरै सवारी उत्पादन गर्ने देश अमेरिका हो। विश्व सवारी उत्पादनमा अमेरिकाको हिस्सा ११.३ प्रतिशत रहेको छ। एलन मस्कको विद्युतीय कार उत्पादक कम्पनी पनि अमेरिकाकै हो। 

उत्कृष्ट विद्युतीय कार उत्पादनबाट विश्वभर चर्चा बटुलेको टेस्ला बजार पुँजीकरणका आधारमा सबैभन्दा मूल्यवान सवारी उत्पादक कम्पनी बनेको हो। २०२४ को डिसेम्बरसम्ममा टेस्ला इंकको बजार पुँजीकरण १४ खर्ब अमेरिकी डलर रहेको छ। 

गएको महिना भएको अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पले विजय हात पारेपछि ट्रम्पका मुख्य चुनावी क्याप्मेनर एलन मस्कको कम्पनी टेस्ला इंकको सेयर मूल्य उल्लेख्य रुपमा बढेर उच्च बिन्दुमा पुगेको छ। योसँगै अमेरिकी कम्पनी टेस्लाको बजार पुँजीकरण मूल्य विश्वभर अटोमोबाइल उद्योगको करिब आधा रहेको छ। 

अमेरिकापछि जापान विश्वको तेस्रो धेरै सवारी उत्पादक मुलुक हो। विश्व कार उत्पादनमा जापानको हिस्सा ९.६ प्रतिशत रहेको छ। जापानमा टोयोटा, होन्डा, निसान, माज्दालगायत कम्पनी छन्। 


प्रकाशित : सोमबार, पुस १५ २०८१०९:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend