बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३४.३९ मेगावाटको सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत सवा ७ अर्ब

प्रतिमेगावाट उत्पादन लागत २२ करोड ५४ लाख रुपैयाँ

शनिबार, पुस १३ २०८१
३४.३९ मेगावाटको सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत सवा ७ अर्ब

आयोजनाको निर्माण अवधि ४ वर्षको रहेको छ। आयोजनाबाट ४३ घरधुरी प्रभावित हुनेछन् भने ६ सय २४ वटा रुख कटानी हुने रिपोर्टमा उल्लेख छ।

काठमाडौं- सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ। गण्डकी प्रदेशको गोरखा जिल्ला चुमनुव्री गाउँपालिकामा आयोजना निर्माण हुनेछ।

आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि ७ दिनको समय राखेर सार्वजनिक गरेको हो। आयोजनाको प्रस्ताव विद्युत विकास विभाग रहेको छ। रिपोर्ट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत वन मन्त्रालयमा पेस भएको हो।

३४.३९ मेगावाट क्षमताको जलविद्युत आयोजना रन अफ दि रिभर प्रकृतिको रहेको छ। प्रस्तावित आयोजनाको डिस्जार्ज ११.४ घनमिटर प्रति सेकेण्ड, ग्रस हेड ३५६.११ मिटर र नेट ३४६.४२३ मिटर रहेको छ।

आयोजनाबाट वार्षिक १८६.९९ गिगावाट आवर उर्जा उत्पादन हुने रिपोर्टमा उल्लेख छ। आयोजनाको मुख्य संरचनाहरुमा वेयर, इन्टेक, ग्राभेल  ट्रयाप एप्रोच क्याल, डिस्यान्डर हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, प्रेशर साफ्ट विद्युतगृह, स्वीचयार्ड र टेलरेस पर्ने रिपोर्टमा उल्लेख छ।

आयोजनानको हेडरेस टनेलको लम्बाइ ४ हजार ७ सय ३८ मिटर र भूमिगत विद्युतगृहको लम्बाई ९७ मिटर, चौडाइ १५.२ मिटर र उचाई २७ मिटरको रहने छ। आयोजनाको कुल लागत ७ अर्ब २३ करोड ७९ लाख ८३ हजार रहेको छ। यसैगरी प्रतिमेगावाटको लागत २२ करोड ५४ लाख १२ हजार रुपैयाँ रहेको छ।

आयोजनाको लागत अन्य आयोजनाको भन्दा बढी देखिएको छ। सामान्यत: पछिल्लो समय निर्माण भइरहेको आयोजनाको लागत प्रतिमेगावाट १९ देखि २० करोड रुपैयाँको बीचमा रहेको छ। तर यसको प्रतिमेगावाट लागत साढे २२ करोड रुपैयाँ रहेको छ।

आयोजनाको निर्माण अवधि ४ वर्षको रहेको छ। आयोजनाबाट ४३ घरधुरी प्रभावित हुनेछन् भने ६ सय २४ वटा रुख कटानी हुने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : शनिबार, पुस १३ २०८११५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend