शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

बुधबार, पुस १० २०८१
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा दुई करोड रूपैयाँभन्दा बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए।

तेह्रथुम- लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ।

प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।

गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैँयू), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन्। मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुंगा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ।
पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए। युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उनले सुनाए।

त्यसैगरी धरानबाट आफ्नो छोरीका लागि पूजा गर्न चोत्लुङ पार्क आएको चन्द्रा लिम्बूले बताए। चोत्लुङजस्तो पवित्र स्थानमा पूजा गर्दा बिरामी छोरीले स्वस्थ्यलाभ गर्ने विश्वासमा पूजा गर्न आएको उनले बताए। चोत्लुङ पार्कमा लालीगुराँस नगरपालिकाले एक  पुजारी राखेको छ।

चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ। सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन्। लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि  सङ्ग्रहालयमा सुरक्षित छन्।

सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताए। ‘चोत्लुङ’ याक्थुङ (भाषाको अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ हुने तथा चोत्लुङ जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा मुन्धुममा रहेको म्याङलुङ-२ का लिम्बू संस्कृतिका जानकार बलदेव तुम्बाहाम्फेले बताए।

विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ। चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा दुई करोड रूपैयाँभन्दा बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए।

आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताए। उनका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन्। पर्यटकलाई पार्क अवलोकनका लागि ५० रूपैयाँ र सङ्ग्रहालय अवलोकनका लागि १०० रूपैयाँ शुल्क लिने गरिएको छ। पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष १४ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ। टीएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन्। मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क प्रचारप्रसारको अभावमा ओझेल परेको छ। रासस


प्रकाशित : बुधबार, पुस १० २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend