बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरू

सोमबार, पुस ८ २०८१
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरू

उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ। गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ।

रसुवा- उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ। गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ।

उक्त विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ। हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए। तीनवटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए।

सो आयोजना कुल लागत १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ। सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ।

रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर  तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ। रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन्।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो। यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको सेयर लगानीमा  सो आयोजना निर्माण सम्पन्न भएको हो। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend