बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई मुद्दामा रास्वपा सभापति लामिछानेसँग ३१ करोड रूपैयाँ बिगो दाबी

आइतबार, पुस ७ २०८१
दुई मुद्दामा रास्वपा सभापति लामिछानेसँग ३१ करोड रूपैयाँ बिगो दाबी

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि आजै मुद्दा दर्ता भएको छ।

गण्डकी- सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सातसय पाँच रूपैयाँ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन्।

उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिनुभएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दायर गरिएको हो।

प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए। यस्तै सहकारी ठगीमा जोशीविरुद्ध  पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ।

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि आजै मुद्दा दर्ता भएको छ।

सहकारी ठगी मुद्दामा पनि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ। 

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगी, संगठित अपराधन र सम्पत्ति शुद्धीकरणको कसुरमा विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताए।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। रासस


प्रकाशित : आइतबार, पुस ७ २०८११६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend