बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पहुँचमार्गले जोडियो माथिल्लो म्याग्दी निर्माणस्थल, साढे दुई वर्षभित्र सक्नेगरी ठेकेदार परिचालित

शनिबार, पुस ६ २०८१
पहुँचमार्गले जोडियो माथिल्लो म्याग्दी निर्माणस्थल, साढे दुई वर्षभित्र सक्नेगरी ठेकेदार परिचालित

प्रबन्ध निर्देशक जीतबहादुर घर्तीका अनुसार अबको दुई वर्ष ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार परिचालित भइसकेको छ।

म्याग्दी- माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण स्थल पहुँचमार्गले जोडिएको छ। ३७ मेगावाट क्षमताको सो आयोजनाको हाइड्रो इम्पायर प्रालिको प्रवर्द्धक रहेको छ। बाँध, विद्युतगृह र सुरुङको अडिट निर्माण स्थल जोड्ने सडक निर्माण भएको हो।

मालिका गाउँपालिका-७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका माथिल्लो म्याग्दी, अपर म्याग्दी १, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन्।

माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जीतबहादुर घर्तीले पहुँचमार्गमा पर्ने म्याग्दी नदीमाथि ५० र ३० मेट्रिकटन क्षमताको दुई वटा बेलिब्रिज जडान भइसकेको जानकारी दिए। पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेशन लाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युत्गृह निर्माणको तयारी गरेको उनले बताए।

निर्देशक घर्तीका अनुसार अबको दुई वर्ष ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार परिचालित भइसकेको छ। धवलागिरि गाउँपालिका-४ मा पर्ने सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बाँया किनारमा भूमिगत बालुवा थिग्र्याउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्गृह म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ।

तीन किलोमिटर पाँच सय ५३ दशमलव ३३ मिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ। आउटलेटदेखि विद्युत्गृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।

आयोजनाका लागि आवश्यक एक दशमलव ६९ हेक्टर निजी जग्गा खरिद गरिएको र तीन दशमलव ६९ हेक्टर सरकारी जग्गा प्रयोग गरेबापत शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ। आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ खरिदका लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको प्रबन्ध निर्देशक घर्तीले बताए।

लगानी जुट्यो

माथिल्लो म्याग्दी निर्माणका लागि सिद्धार्थ बैंक, नेपाल एसबीआई, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकले पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार रूपैयाँ लगानी गर्ने सम्झौता भएको छ। बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रूपैयाँ अनुमान गरिएको छ। ब्याजसहित सात अर्ब ६३ करोड २९ लाख १४ हजार रूपैयाँ लागत अनुमान गरिएको आयोजनाकाले १२ वर्षको अवधिमा ऋण तिरिसक्ने योजना बनाएको छ।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि दुईसय १५ दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत् विद्युतगृहदेखि १० दशमलव दुई किलोमिटर दुरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ।

धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप चार वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलोको निर्माण सुरु भएको छ।

१४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना पहुँचमार्ग निर्माणको चरणमा छन्। धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको पाँच वर्षअघि शिलान्यास गरे पनि गति लिन सकेको छैन। रासस


प्रकाशित : शनिबार, पुस ६ २०८११२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend