बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइँसराइ

सोमबार, पुस १ २०८१
सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइँसराइ

'मोटरबाटो त आयो तर, मोटर चढेर गाउँ आउने भन्दा गाउँ छाडेर बसाइँ सर्ने बढे', रघुगंगा गाउँपालिका-८ का वडासदस्य अगेन्द्र छन्त्यालले भने, 'बसाइँसराइका कारण गाउँ युवाविहीन भएको छ।'

म्याग्दी- गुजुमुज्ज ढुंगे घर। तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन। आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि भनिन्छ।

रघुगंगा गाउँपालिका-८ मा पर्ने यही कुइनेखानी गाउँ पछिल्लो समय उजाड र कुरुप देखिन थालेको छ। पाँच वर्ष अघिसम्म ९६ घर परिवारको बसोबास रहेको यस गाउँमा हाल ४३ घर परिवारको मात्रै बसोबास रहेको स्थानीय तबहादुर छन्त्यालले बताए।

तीन वर्षअघि सडक सञ्जाल जोडिएर साना सवारीसाधन गुड्न थालेसँगै गाउँ रित्तिन थालेको हो। 'मोटरबाटो त आयो तर, मोटर चढेर गाउँ आउने भन्दा गाउँ छाडेर बसाइँ सर्ने बढे', रघुगंगा गाउँपालिका-८ का वडासदस्य अगेन्द्र छन्त्यालले भने, 'बसाइँसराइका कारण गाउँ युवाविहीन भएको छ।'

कुइने टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालका अनुसार गाउँमा सडक आए पनि विकासका अरु पूर्वाधार नहुँदा सुविधाको खोजीमा गाउँ छाडेर बसाइँ जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ।

गाउँमा मोटरबाटो आएपछि सदरमुकाम बेनी जान दिनभर पैदल हिँड्नुपर्ने बाध्यता हटेपनि अरु समस्या उस्तै छ। 'मोटर चढेर बेनी पुग्न एक हजार दुई सय भाडा लाग्छ। बाटो राम्रो छैन। खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका सुविधाबाट हामी वञ्चित छौँ', उनले भने।

भौगोलिक विकटताले गर्दा एक गाउँबाट अर्को गाउँ जान दिनभर पैदल यात्रा गर्नुपर्छ। विकट गाउँबस्तीका कारण यस वडाको सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ। गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा छ।

अधिकांशले छोराछोरीको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउने गरेका छन्। वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय विद्यार्थीविहीन हुन थालेको छ। 

कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर कक्षा पाँचसम्म मात्रै पठनपाठन गराउन थालिएको छ। केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीयले लघु जलविद्युत्बाट विद्युत् उपभोग गर्दै आएका थिए। त्यो पनि बाढी पहिरोले निरन्तर क्षति पुर्‍याएपछि हैरानी बेहोर्नुपरेको छ।

कुइनेटो परेको खर्कमा तामाखानी भएकाले यस ठाउँको नाम कुइनेखानी रहन गएको बूढापाकाहरुको भनाइ छ। खानी खन्ने क्रममा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको स्थानीय ७८ वर्षीय टेकबहादुर छन्त्यालले बताए। खानी खन्ने काम बन्द भएपछि यहाँ बसोबास घट्दै गएको उनको भनाइ छ।

हाल यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा छन्। आर्थिक रुपले सम्पन्नहरु बेनी, पोखरा, बुटवल, दाङ, भैरहवालगायतका ठाउँमा बसाइँ गएका छन्। यहाँका प्रत्येक स्थानीय तहका गाउँबस्तीमा हाल सडक सञ्जाल जोडिएको छ।

स्थानीयले उत्पादन गरेका तरकारीलगायत फलफूल बजारमा बिक्री गर्नसमेत सहज भएको छ। तर पनि यहाँका अधिकांश विदेश पलायन भएका छन्। बस्तीमा मान्छे बस्न छाडेपछि गाउँका धेरै घरमा ताला लगाइएको छ। रासस


प्रकाशित : सोमबार, पुस १ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend